अज्ञात रोगका कारण कञ्चनपुरमा ६ जनाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ ।
हिजो महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौँस्थित प्रयोगशाला पठाएको थियो । दुई साताको अवधिमै उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि टोली सङ्क्रामक रोगबारे अनुसन्धान गर्न महाकाली पुगेको हो ।
जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशङ्कामा १० जनाको रगतको नमूना सङ्कलन गरी जाँचका लागि पठाइएको निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले बताए ।
उच्च ज्वरो आएका तीन बिरामीको दोधारा प्राथमिक स्वास्थ्य केन्द्र र दुईको घरमै उपचार भइरहेको छ । स्वास्थ्य केन्द्रका डा. गगन चौधरीकाअनुसार उच्च ज्वरोसँगै मौसमी ज्वरोका बिरामीको चाप पनि बढेको छ ।
प्रतिक्रिया