राष्ट्रपतिले दिइन इन्द्रजात्रा पर्वको शुभकामना
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्वको अवसरमा शुभकामना सन्देश दिएकी छन् ।
उनले वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजा–आराधना गरी मूलतः काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वका अवसरमा उपत्यकाका नेवार समुदाय लगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरिन् ।
शुभकामना सन्देशमा उनले मौलिक परम्परा, सभ्यता र संस्कृतिका धनी नेवार समुदायले मनाउने सबभन्दा ठूलो पर्वको रूपमा रहेको कुमारी इन्द्रजात्रा जस्ता सांस्कृतिक पर्वहरूले समाज र समुदायका सदस्यहरू बिचको आपसी सम्बन्धलाई नवीकृत गर्नुका साथै विविध जातजाति‚ भाषाभाषी‚ संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बिचमा परस्पर विश्वास‚ सद्भाव‚ सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पु¥याउने बताएकी छन् ।
कुमारी इन्द्रजात्रा पर्वले प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न हामी सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा पनि उनले व्यक्त गरेकी छन् ।
प्रतिक्रिया