शुक्रबार, असार २०, २०८२

डब्लुएचओ : कोरोनाविरुद्ध खोपको अनुमति दिँदा सचेत बनौँ

नेपालखोज २०७७ भदौ १६ गते ९:२८

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोपको आकश्मिक वा आपतकालीन प्रयोगका लागि स्वीकृति दिँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले त्यसतर्फ सचेत हुनु पर्ने बताएको छ।

डब्लुएचओले विकासको क्रममा रहेको खोपको आकश्मिक प्रयोगका लागि स्वीकृति दिँदा अति गम्भीर बन्नु पर्ने र त्यसबाट पर्न सक्ने प्रभावहरुप्रति सचेत हुनु पर्ने बताएको हो। डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले हरेक देशसँग खोपको पूर्ण परीक्षण बिना प्रयोगका लागि स्वीकृति प्रदान गर्ने अधिकार रहेको भए पनि त्यसलाई हल्का रुपमा लिन भने नहुने बताएकी छन्।

कुनै पनि नयाँ खोपको प्रयोगपूर्व पूर्ण तहको परीक्षण हुनु पर्ने र त्यसको प्रभावकारिता तथा सुरक्षालाई लिएर शतप्रतिशत विश्वस्त हुनु पर्ने उनले बताएकी छन्। तर पनि संकटको अवस्थामा बिस्तारित परीक्षण बिना आकश्मिक प्रयोगको स्वीकृति दिने अधिकार देशहरुसँग रहे पनि परिणामबारे भने सचेत हुनु पर्ने वैज्ञानिक स्वामिनाथनले बताएकी छन्।

डब्लुएचओका अनुसार विश्वभर अहिले कोरोना भाइरसविरुद्धका सम्भावित ३३ खोपहरु मानवीय परीक्षणको चरणमा छन्। यस्तै अरु १४३ वटा खोपहरु मानवीय परीक्षण पूर्वको तहमा रहेको डब्लुएचओले जनाएको छ। अमेरिकामा खोपको आकश्मिक प्रयोगका लागि स्वीकृति दिने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले काम गरिरहेको खबर आएका बेला डब्लुएचओले त्यसलाई लिएर सचेत गराएको हो।

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा महामारीविरुद्ध ट्रम्प प्रशासनको प्रयास प्रभावकारी नभएको भन्दै गम्भीर आलोचना हुँदै आएको छ। ट्रम्पले आफ्नो प्रशासनले गरेको प्रयास राम्रो रहेको दाबी गरे पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन।

प्रतिक्रिया