मंगलबार, चैत ४, २०८१

देश र जनता रुवाएर सत्ता जित्नु के जित्नु ?

नेपालखोज २०७७ भदौ १७ गते ११:२८

जनता रुवाएर सत्ता जित्नु के जित्नु ? ‘सत्ता, रुप, यौवन, धन र स्वार्थयुक्त मित्रता स्थायी हुँदैन ।’ यो उक्ति ०४६ सालदेखि ०७७ सालको ३२ वर्षमा पटक–पटक यथार्थ बन्यो । ‘जनतावाद नबोक्ने राजनीति टिकाउ हुन्न’ भन्ने भनाइ पनि ३२ वर्षमा २७ सरकार बन्यो र सत्ताइस पल्ट नै सिद्ध हुनपुग्यो । नागरिकवादभन्दा माथि मवाद, फरियावाद, आफन्तवाद, नातावाद, कृपावाद, चाकरीवाद, लेनदेनवाद, दानवाद, आशीर्वाद नै सबैथोक हो भन्ठान्ने राजनीतिका कारणले भएको हो ।

Advertisement

रत्नाकर डाँका वाल्मिकी भएको इतिहास पढेका हामी गिरिजाप्रसादमा जयप्रकाश नारायणकोजस्तो समाजवादी त्याग, देउवामा वीपीको जस्तो प्रजातन्त्रवाद, प्रचण्डमा वुद्धकोजस्तो मानवता र केपी, माधव नेपालमा नैतिक मूल्य हेर्न लालायित थियौं । तर, बिच्छी, सर्प र छेपारोको चरित्रले यी सबै नेता शासक बने, समाचारका शिर्षक बने, ‘राजनेता’ बन्न सकेनन् । पञ्चायतमा भजन राजनीति थियो भन्नेहरुले लोकतन्त्रलाई भोजन राजनीति बनाइदिए ।

विश्वप्रसिद्ध धनाढ्य रकफेलर मर्निङ्वाक गर्दै आउँदा बाटोमा आँखा चिम्लेर घाम तापिरहेको एउटा व्यक्ति देखेर जङ्गिए– बेकारको मान्छे । त्यो व्यक्तिले आँखा खोलेर हे¥यो अनि फेरि आँखा चिम्लियो । रकफेलर फेरि जङ्गिए– चिनिनस्, म रकफेलर । उसले आँखा नउघारिकनै भन्यो– तिमी धनाढ्य रकफेलर भएर के भयो त ? मेरा लागि त तिमी गरीब हौ । रकफेलरले जिल्ल पर्दै भन्यो– कसरी गरीब ? त्यो व्यक्तिले सोध्यो– तिमी कसरी धनाढ्य ? रकफेलरले भन्यो– मसँग उद्योगधन्दा छ, पैसा कमाउँछु । उसले सोध्यो– अनि के गर्छौ ? अरु उद्योग खोल्छु । त्यो व्यक्तिले आँखा उघारेर भन्यो– रकफेलर तिमी संसारको सबैभन्दा गरीब हौ । दरिद्र र थाङ्ने विचार छ तिम्रो । तिमी आधा विश्वको धनी होलाउ तर एकदिन तिमीलाई तिम्रो आत्माले छाडिदिन्छ । तिमी धूलो बन्छौ । संसार समयको गतिमा छ । आस्था र आनन्दमा छ । तिमी पैसामा धनी होलाउ, तर तिमी गरीब छौ । म बिहानी सूर्यको ताप लिएर प्रकृतिमा लीन छु, संसारमा विचरण गरिराखेको छु । म र प्रकृतिवीचको मीठो सम्वन्धमा वाधा नहाल, मेरो समय वर्वाद नगर । उसको कुरा सुनेर रकफेलर एकछिन ट्वाल्ल प¥यो र टोलाउँदै घरतिर लाग्यो ।

अर्को उदाहरण छ अलेक्जेण्डर दी ग्रेटको । तक्षसिला जितेर फर्कदै गर्दा उनले एउटा फकिर बाटो छेकेर ढसमस्स वसेको दखे । अलेक्जेण्डर रिसायो– अलेक्जेण्डर आउँदा बाटो छेक्ने को हो ? म तक्षसिला जितेर आएको वीर अलेक्जेण्डर दी ग्रेट हुँ, बाटो छोड् । त्यो फकिरले जवाफ दियो– तिमीले के कब्जा ग¥यौ, के जित्यौ, केही पनि जितेनौ । तिमी जस्तो फुच्चे (डल्लो कदको)को सोच पनि फुच्चे रहेछ । तिमीले मान्छेको मन जित्यौ ? तिमीले प्रकृतिको हावा, पानी, घाम जित्यौ ? मानिसको आस्था र आत्मालाई त जित्न सकेनौ । तिमी कमजोरलाई खुकुरी देखाएर वीर भएका होलाउ, तिमीजस्तो कायरसँग के कुरा गर्नु ? म संसारको अदृश्य शक्तिसँग कुरा गरिराखेको छु, घाम तापेर प्रकृतिमा हराइराखेको छु । सूर्यको न्यानो घाम र मवीच छलफल चलिरहेको छ, तिमी गए हुन्छ । फकिरको कुरा सुनेर अलेक्जेण्डर दी ग्रेट आश्चर्यचकित प¥यो र आफ्नो बाटो लाग्यो ।

अर्थात्, मान्छे केको लागि दगुर्छ ? आत्मसुख, आत्मसन्तुष्टी र आत्मशान्तिको लागि ? बहुदलबादीले के जिते ? जनयुद्ध र लोकतन्त्र ल्यायौं भन्नेहरु कुन स्तरका क्रान्तिकारी हुन् ? १६१६ मा द्रव्य शाहबाट सुरु भएर नेपाल राज्य कुन दुःखले आर्जित भयो भन्ने इतिहास पढेका छन् ? जनताले पाउनुपर्ने न्याय र जनताबाट आर्जन गर्नुपर्ने विश्वास के हो यिनलाई थाहा छ ? विधि कुल्चिँदा, दण्डहीनता बढ्दा, जनविश्वास गुमाउँदा, राज्यको पहुँच कमजोर हुँदै गएको र देश विदेशको शिकार बन्दै असफलताको भीरबाट गुल्टिने स्थितिमा पुगेको आहट यिनले सुनेका छन् ?

तेस्रो शताव्दी वीसीमा चीनका प्रशासक र पछि गुरु बनेका कन्फ्यूसियसलाई चेला राजकुमारले सोधे– राजकाजका अपरिहार्य तीन तत्व के हुन् ? गुरुले भने– सेना, जनतालाई राहत र सरकारप्रति जनविश्वास । यी तीन मध्ये एउटा हटाउनु परे कुन हटाउने ? राजकुमारको प्रश्नमा कन्फ्यूसियसले भने– आधा पेट खाए पनि राज्यप्रति जनविश्वास छ भने राज्य चल्छ । बाह्य खतरासँग जनता आफैं लड्छ । बाँकी दुई तत्वमा एक तत्व छाड्नु पर्ने अवस्थामा कुन तत्व त्याग गर्ने ? गुरुले जवाफ दिए– खाने कुरा चाहिंदैन । मान्छे खाए पनि मर्छ, नखाए पनि मर्छ । राज्यप्रति जनविश्वास भएन भने राज्य नै ढल्छ । विश्वास राज्यको जग हो ।

आज राज्य कल्चौडामा पुगेर पनि रगत चुसिरहेको जुकातन्त्रको नियति भोगिरहेको छ । नयाँ नेपाल बनाउन अग्रसर भएका र आफैं भ्रष्टाचारमा डुबेर मोटाइरहेकाहरुलाई जुका बनिसकेको यथार्थ थाहा छ कि छैन ? राजतन्त्र हटायौं भन्नेहरु लोकतन्त्र चलाइरहेका छन् कि शोषणतन्त्र ? मठाधीशतन्त्र, मालिकतन्त्र चलाइरहेका छन् ?

नेपाललाई उत्तरदायी र आत्मविश्वासी बहादुर शाहजस्तो नेताको खाँचो छ । ३० वर्षको काराबासपछि निस्केका काला मण्डेलासँग गोराहरुले गर्व गर्दै हात मिलाए । गजबको मानसिक परिवर्तन हो त्यो । चमत्कार भनेको त्यस्तो हुन्छ, त्यागबाट चमत्कार हुन्छ । नेपालका नेताहरु देखेपछि जनताले घृणा गर्छन्, नेतासँग हात मिलाउनै प¥यो भने सच्चा नेपाली पानीले हात धुन्छन्, ताकि फोहर पखालियोस् ।

महानगरको महामारी फोहरको थुप्रो बनिसके नयाँ नेपालका नेताहरु । हेक्का छ ?

हाम्रो राजनीति सीमा मिच्नेसँग भिड्न सक्दैन, सीमा बेच्नेलाई दण्डित गर्न सक्दैन, सीमास्तम्भ र सीमाबाट लखेटिएका असहायको संरक्षण पनि गर्न सक्दैन । कमजोरलाई तर्साउने, मार्ने, कमजोरलाई शोषण गर्ने, कमजोरलाई कारवाही गर्ने र राजनीतिक छल र बल देखाएर राज्य ढुकुटी लुट्ने राजनीतिले आफूलाई राष्ट्रवादी दावी गरिरहेको छ । जनयुद्ध र जनआन्दोलनबाट बेनिभोलेन्स नेतृत्व जन्म्यो भनेको त घरको बाघ बनको स्याल निस्क्यो ।

महाभारतको कथामा श्रीकृष्ण भगवानको छातीमा व्याधाको तीर लागेर लड्नासाथ महारथी अर्जुनको काँधबाट गाण्डिव फुत्रुक्कै खसेको प्रसङ्ग छ । त्यो देखेर श्रीकृष्णले अर्जुनलाई भने– पार्थ आफैं शक्तिशाली बन्ने साहस गर । सत्य यही थियो र यही हो । हाम्रा भविष्य निर्माता नेताहरु व्याधाको तीर लाग्नु अघिको अर्जुनजस्तै महारथी हुन् । अर्जुनलाई श्रीकृष्णको बरदान थियो, हाम्रा नेताहरुलाई कुन–कुन विदेशीको धाप र आशीर्वाद छ । यी आफैंमा महारथी होइनन् । यिनले आफै शक्तिशाली बन्ने चेष्टा कहिल्यै गरेनन् । अर्काको पिठ्यूँमा धाप थापेर शक्तिशाली बनेका हाम्रा नेताहरु कतिखेर अर्काले भुइँमा थचारिदिन्छ र यिनीहरु पाहा पछारिएझैं पछारिने हुन्, होसमा छैनन् ।

दिनदिनै पेण्डोराको बाकस खुलिरहेको छ । नेताका मुखमा लागेका विदेशी स्वार्थका मुखुण्डोहरु पनि खुल्दै गएका छन् । यीभन्दा राष्ट्रघाती अरु को हुनसक्छन् ? नेताहरु यति नैतिकहीन हुनुमा ‘तवायफ’ विचार राख्ने बुद्धिजीवी, मर्सिनरी बनेका नागरिक समाज र मानवाधिकारवादीहरु पनि कम दोषी छैनन् । दोषी हामी हौं, हामीले यिनलाई कज्याउन सकेनौं, छाडा छाड्दा यो दुर्गति भोग्नुपरेको हो ।

पतन भनेको कति डरलाग्दो, कति कष्टदायी हुनेरहेछ ? हामी भोगिरहेका छौं ।

बिस्मार्कको देश जर्मन हिटलरका ज्यादतीका कारण आज पनि लज्जित छ । यत्तिमा भनौं– लोकतन्त्र यी नेताका कारण लाजमर्दो हुनपुग्यो । सत्य के हो भने सबैभन्दा ठूलो प्राणी डाइनासोर आज छैन । लोकतन्त्रका यी रक्तपिपासु बनेका अजङ्गका डाइनासोरको पनि अन्त आउनेछ । जब एकजना वीर समाजमा उभिनेछ ।

चिन्ता छ, त्यतिञ्जेल देश नमरोस् । देश बाँचिरहोस् ।

जर्मन एकीकृत राष्ट्रवादको दौडमा अगुवा विस्मार्क पुजनीय छन् । नेपाली एकीकृत राष्ट्रवादका अगुवा श्री ५ पृथ्वीनारायण शाहलाई विस्तारवादी सामन्त भनेर अपहेलना गर्ने तत्व यही लोकलज्जा नभएको अनैतिक लोकतन्त्रवादीहरु हुन् । पृथ्वीनारायण शाहको सालिक उखेलेर संग्रहालयमा राख्न आदेश दिने व्यक्ति हाम्रा नेता, नीतिकार र शासक बनेका छन् । यिनीहरु भन्छन्– नेपाललाई सिंगापुर बनाउँछौं, स्वीट्जरलैण्ड बनाउँछौं । विदेशी टाट्नो र स्वार्थको थाङ्नामा सुतेर ‘नयाँ नेपाल बनाउने’ चटके भाषणलाई कसरी पत्याउने ? चटकेहरु चटक देखाउने र भुलभुलैयामा पारेर जनतालाई भ्रमित र आश्चर्यचकित पार्न जान्दछन् भन्ने जनताले नबुझेसम्म यो राजनीतिक नौटङ्की बन्द हुनेवाला छैन । जनताले कहिले बुझ्ने ? कहिले ब्यूँझने ? जनताको छोरो कहिले पलायन राजनीतिमा राष्ट्रबादको मियो बनेर उभिने ?

५० वर्षमा चीन प्रगतिको कुन उचाइमा पुग्यो । कोरियाको प्रगति धेरै माथि पुगिसक्यो ? इमान्दारिता, मेहनत र निष्ठाले देश बन्छ भन्ने तत्वज्ञान अणुवमबाट त्राणित जापानले देखाइदिएको छ । भाषणले देश बन्दैन, देश बनाउन प्रतिवद्धतामा पसिना मिसाउनु पर्छ भन्ने उदाहरण आजको जापान हो । समाजवादी र जनवादीको पगरी गुथेर जनताको पसिनामा पौडी खेल्नेहरु कहिले पनि देशभक्त हुन सक्केनन् । जनताले पछार्नुपर्ने नेताले जनतालाई लछारेपछि निस्केको विकृतिले देशलाई कमजोर पार्दैछ । यसैले नीति निर्माता बस्ने संसद, कार्यपालिका र न्यायपालिकामात्र होइन, सिङ्गो संविधान नाचघरभन्दा भिन्न अवस्थामा छैन ।

२१औं शताव्दीको युग विवेक, स्वतन्त्रता, स्वाभिमान, समानता, लोकतन्त्र र मानवाधिकारको हो भन्ने चुरो कुरो राजनीतिक दलहरुको ‘भेजा र भिजन’मा घुस्न सकेन । राजनीति अपराधिकरण र व्यभिचारको दाउ खेलिरहेका छन् । यही कारण देश द्रौपदीको चीरहरणजस्तै भएर लोकतान्त्रिक लोककल्याणकारी राज्यका सिद्धान्तहरु हरण भइरहेका छन् । धृतराष्ट्रको शासन र दुर्योधनको नेतृत्वमा दुसासनसहितका कौरवहरुको अमानवीय शासन र लोकतान्त्रिक नेपाल उस्तै भयावह बनेको छ । लोकतान्त्रिक नेपालमा नैतिक सीमाको सम्झना दिने एकजना ‘विदुर’सम्म पनि उभिन नसक्नुले लोकतान्त्रिक गणतन्त्र साह्रै नीतिहीन तन्त्र हुनपुगेको छ । नैतिकतामा ह्रास आएपछि, निष्ठा समाप्त भएपछि, सिद्धान्तलाई सौदाबाजी गरेपछि, राजनीतिक नेतृत्व असफल हुन्छ र देशले रगतको आँसु रुनुपर्छ । यहीकारण देश रोइरहेछ ।

प्रतिक्रिया