शुक्रबार, चैत ७, २०८१

उपत्यका निषेधाज्ञा : के गर्ने, के नगर्ने ?

नेपालखोज २०७७ भदौ १८ गते ७:४०

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साताका लागि बढाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले उपत्यका कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै भदौ २४ गते मध्यराति सम्मका लागि निषेधाज्ञा बढाएको हो ।

Advertisement

जोखिमलाई विश्लेषण गर्दा अझै केही समय निषेधाज्ञा थप्नु पर्ने देखिएकोले सोही अनुसार एक सातासम्म यसअघिकै निर्णयलाई निरन्तरता दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । तर उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञालाई यस पटक केही खुकुलो बनाइएको छ ।

काठमाडौंका प्रजिअ दाहालले यस पटकको निषेधाज्ञाका केही प्रावधानमा खुकुलो पारिएको बताए । तर, मानिसको आउजाउमा भने कडाई गरिने उनले जानकारी दिए । उनकाअनुसार अबको समयमा होटल र रेस्टुराँमा टेक–अवे तथा होम डेलिभरीको सेवा सञ्चालन गर्न अनुमति दिइने छ ।

त्यस्तै अब बिहान ११ बजेसम्म दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्न पनि दिइने छ । यसअघि त्यस्ता सेवाहरु बिहान ९ बजेर १५ मिनेटसम्म मात्रै संचालन गर्न पाइन्थ्यो । यस्तै भारत र नेपालका विभिन्न स्थानबाट निर्माण सामग्री लिएर आउने सवारी साधनलाई उपत्यकामा प्रवेश गर्न दिइने छ ।

निर्माण सामाग्रीसँग सम्बन्धित हार्डवेयर पसल दिउँसो २ बजेदेखि राति ९ बजेसम्म खोल्न दिइने छ । शिक्षा मन्तालायको प्रोटोकलअनुसार अनलाईन कक्षा सञ्चालन गर्न पनि दिइने छ ।  विदेशबाट पीसीआर परीक्षण नगरी आएकालाई यही परीक्षण गर्न दिने गरी नेपाल आउन अनुमति दिइने छ । त्यस्तै राष्ट्रिय गौरवका आयोजना र अत्यावश्यक निर्माणका काम पनि स्वास्थ्य मापदण्ड पालना गरेर अघि बढाउन सकिने छ ।

प्रतिक्रिया