कोरोना नियन्त्रणमा सरकार गम्भीर देखिएन – कांग्रेस कोभिड–१९ अनुगमन समिति
काठमाडौं । कोरोना रोकथामको तयारीप्रति सरकार गम्भीर नभएको नेपाली कांग्रेसद्वारा गठित कोभिड–१९ अनुगमन समितिले आरोप लगाएको छ । सरकार कोरोनाको नियन्त्रण तथा उपचारका लागि अझै पनि गम्भीर नभएको नेपाली कांग्रेसका सह महामन्त्री एवम् समितिका संयोजक डा. प्रकाशशरण महतले बताएका छन् ।
समितिले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको समयावधी बढाइएको भएता पनि त्यो ठोस अध्ययनका आधारमा नभइ हचुवाको आधारमा गरिएको तथा निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिदो छ भने संक्रमण बढ्ने क्रम कम नभएको जनाइएको छ ।
विज्ञप्तीमा भनिएको छ, “नेपाल सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर छैन । उपत्यकामा फेरि निषेधाज्ञा थपिएको छ । देशका विभिन्न भागहरुमा पनि निषेधाज्ञा लागू गरिएको छ । यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेका छन् । अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो छ । निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिँदो छ भने संक्रमण बढ्ने क्रम कम भएको छैन ।”
समितिले समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएको अवस्थामा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएर कोरोना रोकथाम तथा नियन्त्रण र उपचारको मूल जिम्मेवारीबाट सरकार पन्छिन खोजेको आरोप लगाएको छ ।
कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक–सामाजिक संकट कम गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न केही दिन अघि समितिले १३ बुँदे ध्यानाकर्षण पत्रसहित सरकारसँग माग गरेको थियो ।
समितिले सरकारको यस्तो संवेदनहीनता र निष्क्रियताको घोर निन्दा गर्दै तत्काल कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकहरुको आर्थिक सामाजिक जीवनमा देखा परेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न फेरि पनि माग गरेको छ ।
प्रतिक्रिया