बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु
बुटवल । रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिला र पुरुषको मृत्यु भएको हो ।
गत भदौ १५ गते खोकी लागि ज्वरो आएपछि जाँचका लागि अस्पताल पुगेको बुटवल ११ का ४० वर्षीय पुरुषको गएराति ११ः १० बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । थापाकाअनुसार मृतक १५ गते अस्पताल आएका थिए ।
उनको इमरजेन्सी एक्सपर्ट टेस्टबाट पीसीआर जाँच गर्दा पोजिटिभ आएपछि कोरोना विशेष अस्पतालमा राखी उपचार गरिएको थियो । विगत ४ दिनदेखि भेन्टिलेटरमा राखिएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा. थापाले जानकारी दिए ।
त्यस्तै आज बिहान नवलपरासी–२ प्रतापपुर की ३७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । महिला भदौ १७ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई पनि श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याएर जाँच्दा पाजिटिभ आएको डा. थापाले बताए ।
गएरातिबाट थप समस्या भएपछि भेन्टिलेटरमा राखी उनको उपचार गरिएको थियो । दुवैमा ज्वरो र श्वासप्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको डा. थापाले बताए ।
प्रतिक्रिया