आइतबार, कार्तिक ७, २०७८

रातो मच्छिन्द्रनाथ रथजात्रा : सोह्रखुट्टे पाटीसम्म तानिदै

नेपालखोज २०७७ भदौ २१ गते ७:१६

काठमाडौं । कोरोनाको जोखिमका कारण अन्योलमा परेको ललितपुरको रातो मच्छिन्द्रनाथको रथजात्रा छोट्याउने सहमति भएअनुसार आज रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिने भएको छ ।

यससँगै आज ललितपुरका बासिन्दाले छ्वयलाभू बनाउने भएका छन् । स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवस्थित तरिकाले रातो मच्छिन्द्रनाथको रथलाई अहिले राखिएको ठाउँबाट अलि पर तानिने भएको छ भने अहिले गाःबहालमा राखिएको मीननाथको रथलाई पुल्चोकसम्म तानिने छ । दुवै रथलाई तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइनेछ ।
यससँगै रथलाई साङ्केतिक रुपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म तानेको मानेर सबै क्षेत्रका बासिन्दाले आज छ्वयलाभू र भोलि सोमबार भुज्या मनाउने छन् ।

यसवर्ष साङ्केतिक रूपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म एकैचोटी रथलाई तानिन लागेकोले गाः बहाल जात्रा व्यवस्थापन समिति, वछुत्वा नुगः जात्रा व्यवस्थापन समिति, लंगया बुंगद्यः जात्रा व्यवस्थापन समिति र जावलाख्यः जात्रा व्यवस्थापन समितिका ४०, ४० जना गरेर १६० जनाले रथ तान्ने भएका छन् । रथ तान्नको लागि उनीहरु आज दिउँसो ३ बजे गाः बहालमा भेला हुने छन् । रथ तान्नेहरूको पहिचानको लागि काय्गुननी टोलले १६० वटा टिसर्ट र १६० वटा टोपीको व्यवस्था गर्ने भएको छ ।

स्वास्थ्य सुरक्षाका लागि पाँच सय वटा मास्क, पन्जा र भाइजर तथा १५ लिटर स्यानिटाइजर व्यवस्था गरिने भएको छ। ५ जोर धिमे बाजा बजाउनको लागि २० जना, काः बाजा बजाउने ४ जना र २ जोर नायखिं बाजा बजाउनको लागि ४ जनाको टोली तयार गरिने भएको छ । रथलाई हपाः दिने जिम्मा काय्गु ननी टोलले लिएको छ ।

त्यस्तै मच्छिन्द्रनाथ र मीननाथको रथ सँगसँगै बस्नको लागि ज्यापू समाज यल, नेपालभाषा मंका खल यल, १९ वटा जातीय समूहका अध्यक्ष, ललितपुर महानगरपालिकाका मेयर, उपमयेर, सांसद, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, गुठी संस्थानका प्रमुख, जात्रा व्यवस्थापनका संयोजकलगायत गरेर १२२ जना बस्ने भएका छन् ।

त्यस्तै किरण डंगोलको संयोजकत्वकमा गाःबहाल जात्रा व्यवस्थापन समिति, वछुत्वा नुग समिति, लंगया समिति, जावलाखेल समिति, विभिन्न जातीय समूहको तर्फबाट १२४ जना स्वयंसेवक परिचालन गरिने भएको छ ।

प्रतिक्रिया