शुक्रबार, वैशाख १४, २०८१

‘घुम्ती स्वाब सङ्कलन बुथ’ सञ्चालनमा

नेपालखोज २०७७ भदौ २२ गते १४:४८

सूर्यविनायक नगरपालिकाले पिसिआर परीक्षणका लागि ‘घुम्ती स्वाब सङ्कलन बुथ’ सञ्चालनमा ल्याइएको छ ।

नगरपालिकाका प्रमुख वासुदेव थापाले भने अब टोलटोलमा बुथ लगेर स्वाब सङ्कलन गरिनेछ । भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालमै पहिलो पटक सूर्यविनायक नगरपालिकाले आफ्नै बुथ टोलटोलमा पुर्‍याएर स्वाब सङ्कलन गर्दा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिनबाट जोगाउन सक्ने विश्वास व्यक्त गरे । उनले भने, “स्वाब दिन अस्पतालसम्म जाँदा आउँदा सङ्क्रमण फैलिन सक्ने जोखिम अब यसले अन्त्य गरेको छ, नगरपालिकाको यो अभियानले टोलटोलमै गएर स्बाव सङ्कलन गर्दा सुरक्षित पनि हुने र समुदायमा सङ्क्रमण फैलिनबाट पनि रोक्न सक्छ, अरु स्थानीय तहले पनि यो प्रविधि अपनाउनु उपयुक्त हुन्छ ।”

नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको जोखिमयुक्त वडा र टोलको पहिचान गरी आफ्नै स्वास्थ्यकर्मीको टोलीमार्फत कन्ट्याक्ट ट्रेसिङ गर्दै टोलटोलमा स्वाब सङ्कलन अभियान शुरु गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए । उनले भने, “कोभिड–१९ को सङ्क्रमणलाई समुदायस्तरमा फैलिनबाट रोक्न कसरी जान सकिन्छ भन्नेबारेमा छलफल गर्‍यौं, स्वाब सङ्कलन बुथ बनाएर टोलटोलमा जान सकिने निष्कर्ष निस्किएपछि कर्नेल शिवप्रसाद पौडेल र मैले खाका बनायौं, यसले छिटो र छरितो रुपमा स्वाब सङ्कलनमा निकै सहजता ल्याउँछ ।”

नगरपालिकाले ट्रक र सामग्री उपलब्ध गराएपछि नेपाली सेनाको वीर दल गण सूर्यविनायकको प्राविधिक एवं जनशक्तिसहितको सहकार्यमा तीन दिनमा बुथ तयार पारेको वीर दल गणका गणपति कर्नेल शिवप्रसाद पौडेलले जानकारी दिए ।

नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक एवं वडा नं ८ का वडाध्यक्ष किरण थापाले बुथबाट पहिलो दिन १, २, ३, ६, ८, ९ र १० वडाका ९६ जनाको स्वाब सङ्कलन गरेको जानकारी दिए । स्वाब सङ्कलनका लागि नगरपालिकाबाट सम्बन्धित वडाका वडाध्यक्षको नेतृत्वमा उपप्रमुख जुना बस्नेत, प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली, सामाजिक विकास शाखाका संयोजक थापा, स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईंसहितको ६ सदस्यीय स्वास्थ्यकर्मीको टोली खटिने छन । नगरपालिकाले अहिलेसम्म कन्ट्याक्ट ट्रेसिङबाट ५६६ जनाको स्वाब सङ्कलन गरेको छ ।

प्रतिक्रिया