शनिबार, वैशाख ८, २०८१

सोमवार १२.१७ अंकले घट्यो शेयर बजार, २ अर्बभन्दा बढीको कारोबार हुदाँ नेपाल पुनर्बीमाको सबैभन्दा बढी हिस्सा

नेपालखोज २०७७ भदौ २२ गते १६:०४

काठमाडौं । गत साताको अन्तिम कारोबार दिन बिहीवारदेखि ओरालो लागेको शेयर बजार सोमवार पनि घटेर बन्द भएको छ । यस दिन बजार १२ दशमलव १७ अंक घटेर १ हजार ४८७ दशमलव ८१ विन्दुमा झरेको हो । आइतवार बजार १ हजार ४९९ दशमलव ९७ विन्दुमा बन्द भएको थियो । लामो समय बढेको बजारमा नाफा भएको शेयर विक्री गर्न लर्फ लगानीकर्ताहरु सक्रिय हुदाँ बजारमा नकारात्मक प्रभाव परेको जानकारहरु बताउँछन् ।

आइतवारको तुलनामा सोमवार कारोबार रकम पनि घटेको छ । आइतवार २ अर्ब ७८ करोड २३ लाख ७७ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमवार भने २ अर्ब १६ करोड ४९ लाख ३० हजार रूपैयाँ बराबरको ५५ लाख ९५ हजार ५५१ कित्ता शेयर खरिद विक्री भएको हो । यस दिन १९२ कम्पनीको २८ हजार ७८ पटकको व्यापारमा उक्त रकम बराबरको कारोबार भएको हो ।

कुल कारोबार रकममा सबैभन्दा बढी हिस्सा सोमवार पनि नेपाल पुनर्बीमा कम्पनीलेनै ओगटेको छ । नेपाल पुनर्बीमा कम्पनीको सोमवार २८ करोड ४० लाख ३७ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयरमूल्य भने सोमवार प्रतिकित्ता रू. १५ ले घटेर अन्तिम मूल्य रू. ८५६ कायम भएको छ ।

सोमवार व्यापारिक समूहका कम्पनीको शेयरप्रति लगानीकर्ताहरुको आकर्षण बढी देखिएको छ । कारोबारमा आएका १२ समूहमध्य व्यापारिक समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव ४८ प्रतिशतले बढेको छ । त्यस्तै , वित्त समूह शून्य दशमलव शून्य ५ प्रतिशत, अन्य समूह शून्य दशमलव ३९ प्रतिशत र लघुवित्त समूह शून्य दशमलव शून्य ५ प्रतिशत बढेको छ भने बाँकी समूह घटेको छ ।

यो दिन बैंकिङ समूहको १ दशमलव ४२ प्रतिशत, होटल समूहको शून्य दशमलव १७ प्रतिशत, विकास बैंकको शून्य दशमलव ९ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३३ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ६ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव शून्य १ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव ४७ प्रतिशत परिसूचक घटेको छ ।

घटेको बजारमा ४७ कम्पनीको शेयरमूल्य बढेको छ । यस दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बृद्धि भएको छ भने एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेडको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ९२ प्रतिशतले घटेको छ । सर्वाधिक मूल्य बढ्ने उन्नती सहकार्यको अन्तिम शेयरमूल्य १ हजार ९८ रूपैयाँ कायम भएको छ भने सर्वाधिक मूल्य घट्ने एनआरएनको अन्तिम मूल्य रू. ४३६ कायम भएको छ । उन्नती सहकार्यको प्रतिकित्ता ९९ रूपैयाँले शेयरमूल्य बृद्धि भएको हो भने एनआरएन इन्फ्रास्टक्चरको प्रतिकित्ता रू. ४८ ले शेयरमूल्य घटेको हो ।

प्रतिक्रिया