बिहीबार, चैत १५, २०८०

दरबार हाइस्कूलको भवन हस्तान्तरण

नेपालखोज २०७७ भदौ २३ गते १५:४७

काठमाडौं ।चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन मंगलबार हस्तान्तरण भएको छ ।

गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड–१९ का कारण ढिलो भएको हो । चीनका तर्फबाट प्रोजेक्ट म्यानेजर मीनले विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय गोपाल महर्जन र प्रभा बज्राचार्यलाई विद्यालय भवनको साँचो हस्तान्तरण गरेको छ । उक्त भवनमा भानु मा.वि र संस्कृत मा.वि सञ्चालित रहेकाले दुवै विद्यालय व्यवस्थापन समितिलाई साँचो हस्तान्तरण गरिएको बताइएको छ ।

काठमाडौं महानगरपालिका—२७ रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा उक्त विद्यालय निर्माण गरिएको हो । भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्सट्रक्सनले लिएको थियो । रु ८५ करोडको लागतमा निर्माण गरिएको यो चार तले भव्य भवन ४० कक्षा कोठाको छ ।
निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सकिएको भए पनि कोभिड—१९ का कारण हस्तान्तरण हुन नसकेको बताए । विद्यालयको निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिएको बताइएको छ ।

लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछिमात्रै यस विद्यालयको पुनःनिर्माणको काम शुरु भएको थियो । निर्माणको समयमा भएको सम्झौताअनुरुप निर्माण कम्पनीले शिक्षक र विद्यार्थीको प्रयोगका लागि ७५ वटा कम्प्युटर पनि दिएको बताइएको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेका छन् ।

प्रतिक्रिया