मंगलबार, वैशाख ११, २०८१

कोरोनालाई जित्न थालिएको हो त ?

नेपालखोज २०७७ भदौ २३ गते १७:४३

काठमाडौं । नेपालमा सुरु–सुरुका दिनहरुमा कोरोना भाइरस संक्रमणदर सामान्य रहेर लकडाउन खुला भएपछि एकाएक बढ्यो । जसले गर्दा त्रासपूर्ण वातावरण बन्यो । मलाई कोरोना संक्रमण भैहाल्छ कि ? संक्रमण भैहाल्यो भने निको हुँदैन कि ? भन्ने मानिसमा हुने सोचाइ अनि संक्रमण भयो भने समाजले उसलाई हेर्ने दृष्टिकोण यी यावत कुराले यतिबेला आम नागरिक साँचिक्कै त्राहिमाम अवस्थामा छन् । यिनै विभिन्न त्रासका कारण यतिबेला आत्महत्या गर्ने, डिप्रेशनमा जानेलगायतका समस्या नेपालमा नदेखिएका पनि होइनन् । तर, विज्ञ भन्छन्, कोरोना भाइरस भनेको सामान्य रोग हो । यसलाई सकारात्मक सोच लिएर सावधानीका साथै आत्मबल बलियो बनाउने हो भने यो रोगलाई सहजै हराउन सकिन्छ ।

नेपालको आजसम्मको तथ्यांक हेर्ने हो भने कुल संक्रमितको संख्या ४८ हजार १ सय ३८ जना छन् । त्यसको ६८.५ प्रतिशत अर्थात ३२ हजार ९ सय ६४ जना निको भइसकेका छन् । नेपालमा आजसम्मको तथ्यांकअनुसार कोरोना संक्रमण भएर निको हुनेमा प्रदेशअन्र्तगत प्रदेश १ मा २ हजार ८ सय १६, प्रदेश २ मा ९ हजार ५ सय २३, वाग्मतीमा ५ हजार ४, गण्डकीमा १ हजार ९ सय ९२, प्रदेश ५ मा ५ हजार ७ सय ७१, कर्णालीमा २ हजार ३ सय ९८, सुदूरपश्चिम प्रदेशमा ५ हजार ४ सय ८० गरी कुल ३२ हजार ९ सय ६४ जना रहेका छन् ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै जानुले समुदाय स्तरमै संक्रमण फैलिएर भयाभह स्थिति नै सृजना भयो भन्ने त्रास बढिरहँदा पछिल्लो १ साताको अवधिमा निको हुनेको तथ्यांकले भने केही आशाका किरणहरु जगाएको छ । नेपालमा भदौ १७ गते १ हजार १ सय १२, १८ गते ९ सय १७, १९ गते १ हजार ३ सय ५४, २० गते १ हजार ५ सय ६६, २१ गते १ हजार ८ सय १४, २२ गते १ हजार ७ सय ३६ र आज २३ गते सबैभन्दा बढी २ हजार २ सय ८७ जना संक्रमण मुक्त भइ घर फर्किएका छन् । संक्रमण भइ निको हुँदै जानेको पछिल्लो तथ्यांकले पनि हामी सुधारोन्मुख गतिमा अघि बढिरहेको देखाउँछ ।

कोरोना भाइरस यतिवेला विश्वमै महामारीको रुपमा फैलिएको छ । यो अवस्थामा विश्वका कुन देश कोरोना नियन्त्रण गर्न कति सक्षम भए भन्ने कुरा पनि महत्व राख्छ । एक साताअघि मात्रै सार्क मुलुकमध्ये नेपालमा कोरोना लागेर निको हुने दर सबैभन्दा कम भन्ने खबरले संचार मध्यम तथा सामाजिक संजालहरुमा निकै स्थान पाएको थियो । नेपालको अहिलेको अवस्थालाई विश्वस्तरमा तुलना गर्ने हो भने हाम्रो देशमा संक्रमितको संख्या पनि कम रहेको र कोरोना निको हुने क्रम पनि बढ्दै गएकाले नियन्त्रण भइरहेको संकेत छ भन्छन्, जनस्वास्थ्यविद् डा. समिरमणी दीक्षित । जनस्वास्थ्यविद् डा.दीक्षित भन्छन्, नेपालमा पछिल्लो समय निको हुनेको संख्या बढ्दै जानुले पनि केही आशाका किरण पलाएको छ ।

अन्तराष्ट्रिय स्तरको तुलना गर्दा नेपालको पछिल्लो अवस्था चित्त बुझ्दो रहेको र अब विस्तारै यो क्रम बढ्दै जाने उनको भनाइ छ । विश्वमा कोरोना भाइरस संक्रमण उमेर समुह अनुसार पनि फरक छ । विशेषगरी कोरोना संक्रमणको जोखिम बालबालिका, दीर्घ रोगी तथा वृद्धवृद्धामा बढी छ । विश्वका अन्य मुलुकसँग तुलना गर्दा उमेर हदमा देखिने संक्रमण पनि नेपालमा खासै फरक देखिएको छैन । नेपालमा युवा पुस्ताको संख्या नै अलि बढी भएकाले संक्रमण तथा मृत्यु पनि उनिहरु नै बढी देखिनु सामान्य कुरा हो भन्छन् जनस्वास्थ्यविद् डा. दीक्षित । जनसंख्याको हिसाबले युवामा संक्रमण अलि बढी, बालबालिकामा खासै फरक नपरेको र वृद्धमा अन्य देश जस्तै हाम्रोमा पनि अलि बढी जोखिम हुनुले हामी पनि अन्य देश सरह रहेको उनको बुझाई छ ।
अर्का जनस्वास्थ्यविद् डा. शेरबहादुर पुनको भनाई पनि उस्तै छ । उमेर हदमा हेर्ने हो भने सामान्यतया युवा पुस्तामा अहिले पनि नराम्रो नरहेको तर दीर्घ रोग या अन्य कुनै रोगी छ भने जुनसुकै उमेर समुहको भएपनि समास्या हुने जनस्वास्थ्यविद् डा. शेरबहादुर पुनको भनाई छ ।

जनस्वास्थ्यविद्हरुको भनाई अनि नेपालको पछिल्लो तथ्यांक अनुसार प्रयास गरे नेपाललाई संक्रमण मुक्त मुलुक बनाउन सकिन्छ भन्ने संकेत गर्छ । जनस्वास्थ्यविद्हरुको भनाइअनुसार कोरोना संक्रमणबाट अलिकति सावधानी अपनाउने हो या ख्याल गर्ने हो भने बच्न सकिन्छ । अथवा संक्रमण भयो भनेपनि यसलाई बलियो अत्मबलका साथ विभिन्न सावधानी अपनाई संक्रमण मुक्त हुन सकिन्छ । त्यसो भन्दैमा यसलाई सामान्य रुपमा लिएर हेलचेक्र्याई गर्यो भने अवश्य पनि यसले गम्भीर रुप लिन सक्छ । । नेपाली समाजमा एउटा भनाई छ । रोग लागेर दुःख पाउनु भन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी हुन्छ । यसर्थ संक्रमण भएर व्यक्ति, परिवार, समुदाय र मुलुकलाई जोखिममा पार्नु भन्दा अब तपाई हामीले आफूलाई संक्रमण नै हुन नदिन हरसम्भव प्रयास गर्न आवश्यक छ । यसो गर्न सके जुन गतिमा नेपालमा पछिल्लो समय कोरोना संक्रमित निको भइरहेका छन त्यही गतिमा संक्रमित दिनदिनै निको हुँदै गए भने अवश्य पनि नेपाल कोरोना संक्रमण मुक्त देश बन्न समय लाग्दैन । त्यसले नेपाललाई कोरोना संक्रमण मुक्त मुलुक बनाउन तपाई हामीले पनि गम्भीर भएर लाग्न जरुरी छ ।

प्रतिक्रिया