शुक्रबार, चैत १६, २०८०

दार्चुलामा गर्भपतन गराउनेकाे संख्या वृद्धि

नेपालखोज २०७७ भदौ २४ गते १३:०३

दार्चुला । यहाँ सुरक्षित गर्भपतन गर्ने बढेका छन् । अस्थायी साधनको प्रयोग नगरी पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन गराउने बढेका हुन् । विगतमा भारतीय बजारका मेडिकलमा गएर गर्भपतन गराउँदै आएकाहरु अहिले भने जिल्ला अस्पतालमा सुरक्षितरूपमा गर्भपतन गराउन थालेका छन् । गत चैत ११ गतेदेखि बन्दाबन्दी शुरु भएपछि सीमा पुल बन्द छ ।

“जिल्लामा गत आर्थिक वर्षमा २५५ जनाले सुरक्षित गर्भपतन गराएका छन्, यो सङ्ख्या निकै धेरै हो”, जिल्ला अस्पतालका डा. गजेन्द्र दुवालले भने । यसअघि २०७५-७६ मा २१६ जनाले अस्पतालमा आएर गर्भपतन गराएका थिए । “विगतमा मेडिकलबाट औषधि लिएर घरमै प्रयोग गर्ने गर्थे, तर अहिले चेतनास्तरमा आएको परिवर्तनले पनि सुरक्षित गर्भपतन सेवा लिने बढेको हुनसक्छ”, डा दुवाल भन्छन् ।

महिला र पुरुषका लागि परिवार नियोजनका विभिन्न अस्थायी साधन हुँदाहुँदै पनि महिलाको स्वास्थ्यलाई जोखिममा पारेर गर्भपतन गराउनु खतरा हुने उनको भनाइ छ । यो तथ्याङ्कले अहिले परिवार नियोजनको साधन प्रयोगकर्ता घटेको देखाउँछ । जिल्ला अस्पतालमा एक वर्षको अवधिमा ४९८ जनाले प्रसूति सेवा लिएका छन् । यस्तै आव २०७४-७५ मा ५७८ र २०७५-७६ मा ४९१ जनाले प्रसूति सेवा लिएको अस्पतालको तथ्याङ्क छ ।

अस्पताल पुगेकामध्ये ४१८ जनाले सामान्य तवरमै प्रसूति सेवा लिएका छन् । यस्तै ३५ जनाको शल्यक्रियाद्वारा प्रसूति सेवा दिइएको डा. दुवालले जानकारी दिए । जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेका २१ जनालाई अन्यत्र अस्पतालमा प्रसूतिका लागि सिफारिस गरिएको छ । जिल्ला अस्पतालमा आएर परिवार नियोजन सेवा लिनेमा कन्डम प्रयोगकर्ता ११२ जना मात्रै छन् । पिल्स ५१, डिपो लगाउने २५८, आइयुसिडी लिने चार र इमप्लान्ट राख्नेको सङ्ख्या ७५ जना रहेको अस्पतालले जनाएको छ ।

यस्तै जिल्ला अस्पतालमा पाँच नवजात शिशुको ज्यान गएको छ । समयमै अस्पताल पु¥याउन नसक्नु तथा सडक नहुँदा बोकेरै ल्याउँदा पनि नवजात शिशुको ज्यान गएको डा. दुवालले बताए । पहाडी क्षेत्रमा गाउँबाट सुविधासम्पन्न अस्पतालसम्म पुग्नै समय लाग्छ । ढिला गरी अस्पताल आउँदा नवजात शिशुको मृत्यु हुने गरेको उहाँको भनाइ छ । जिल्ला अस्पतालमा मातृ मृत्युदर भने गत वर्ष शून्यावस्थामा छ ।

प्रतिक्रिया