मंगलबार, असार १७, २०८२

काठमाडौं निषेधाज्ञा : आजदेखि शर्तसहित यातायात र व्यापार क्षेत्र खुला

नेपालखोज २०७७ भदौ २५ गते ६:५७

काठमाडौं । काठमाण्डौ उपत्यकामा शर्तसहित यातायात र व्यापार क्षेत्र खुला हुने भएका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको हिजो बसेको संयुक्त बैठकले मापदण्ड बनाएर यातायात, पसल सञ्चालन गर्न दिइने तर अन्य क्षेत्रको निषेधाज्ञा ३१ गतेसम्म थप्ने निर्णय गरेको हो ।

अब काठमाण्डौमा जोर बिजोरको आधारमा निजी र सार्वजनिक गाडी चलाउन पाइनेछ । १६ सिटभन्दा धेरै क्षमताका गाडीमा आधा क्षमतामा मात्रै यात्रु राख्न पाइने, ट्याक्सीमा बढीमा तीन जना मात्रै राख्न पाइने छ भने मालवाहक गाडीमा जोर बिजोर लागू हुने छैन ।

यस्तै दूध, तरकारी फलफुल लगायतका पसल बिहान ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइनेछ । निर्माण सामग्री बेच्ने पसल दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म, होम डेलिभरी सेवा १२ बजेदेखि ७ बजेसम्म, सहकारी संस्था ११ बजेदेखि ३ बजेसम्म खोल्न पाइनेछ ।
त्यस्तै शपिङ मल, कपडा, जुत्ता तथा कस्मेटिक पसल सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

भाँडा, भान्साजन्य र अन्य पसल आइतबार, मङ्गलबार र शुक्रबार मात्रै खोल्न पाइनेछ । फर्निचर र अटो सोमबार र बुधबार खुल्ने छन् । फुटपाथ पसल बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

यस्तै, ग्यारेज बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ भने ठूला उद्योगले कामदारलाई उद्योग परिसरमै क्याम्पमा राख्नुपर्नेछ । तर जमघट गर्न पाइने छैन । धार्मिक स्थलहरुमा मठमन्दिर, गुम्बा, मस्जिद, चर्च भने खुल्ने छैनन् ।
शैक्षिक संस्था, जिमखाना, खेलकुद, पार्टी प्यालेस, फिल्म हल, पुस्तकालय, सङ्ग्रहालय लगायतका क्षेत्र भने बन्द नै रहने छन् ।

प्रतिक्रिया