शुक्रबार, वैशाख १२, २०८२

प्राविधिक समस्यामा परेको बिहीबारको बजार १२.४९ अंकले बढ्यो, कारोबार रकम २ अर्बभन्दा बढी

नेपालखोज २०७७ भदौ २५ गते १८:२२

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार १२ दशमलव ४९ अंक बढेर १ हजार ५२० दशमलव ६९ विन्दुमा पुगेको छ । यस दिन कारोबार रकम पनि २ अर्ब २० करोड ९६ लाख ४४ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । १८९ कम्पनीको २९ हजार ९९६ पटकको व्यापारमा उक्त रकम बराबरको ४३ लाख २९ हजार ६६५ कित्ता शेयर खरिद विक्री भएको छ । यस दिन ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ७१ अंक बढेर ३०१ दशमलव ३८ विन्दुमा पुगेको छ ।

बिहीवार नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या आएपछि १२ बजेर १९ मिनेटदेखि २ बजेर १५ मिनेटसम्म कारोबार रोक्का गरिएको थियो । करिब २ घण्टा कारोबार बन्द भएपछि बिहीवार नेप्सेले साँझ ५ बजेसम्म कारोबार खुला गरेको थियो । यस दिन बीमा समूहको शेयरप्रति लगानीकर्ताहरु बढी आकर्षित भएको देखिन्छ । कारोबारमा आएका १२ समूहमध्य निर्जीवन बीमा समूह र जीवन बीमा समूहको परिसूचक सबैभन्दा बढी प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूहको ३ दशमलव ९ प्रतिशत र जीवन बीमा समूहको परिसूचक २ दशमलव १९ प्रतिशत बढेको हो ।

बिहीवार राष्ट्रिय बीमा कम्पनीको संस्थापक र सर्वसाधारण शेयरसँगै रिलायन्स लाइफ , एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेड र एनआरएन लघुवित्त वित्तीय संस्थाको शेयर करिब १० प्रतिशतसम्म बढेको छ । राष्ट्रिय बीमा कम्पनीको सर्वसाधारण तर्फको शेयरमूल्य बिहीवार ९ दशमलव ९९ प्रतिशत अर्थात प्रतिकित्ता रू. १ हजार ८६ ले बृृद्धि भएको छ भने संस्थापक तर्फको पनि ९ दशमलव ९९ प्रतिशत अर्थात प्रतिकित्ता रू. ९५० ले बढेको हो । बुधवारदेखि कारोबार सुरु भएको रिलायन्स लाइफको दोस्रो कारोबार दिन शेयरमूल्य ९ दशमलव ८९ प्रतिशत अर्थात प्रतिकित्ता रू. ३७ ले बढेको छ । साताको पहिलो कारोबार दिनदेखि सर्वाधिक प्रतिशतले घट्दै आएको एनआरएन इन्फ्रास्टक्चरको शेयरमूल्य साताको अन्तिम कारोबार दिन भने बढेको हो ।

बिहीवार पनि सर्वाधिक कारोबार गर्ने कम्पनीको स्थान नेपाल पुनर्बीमालेनै ओगटेको छ । यस कम्पनीको रू. १७ करोड ४२ लाख ३४ हजार बराबरको शेयर कारोबार भएको हो । बिहीवार सर्वाधिक रकमको कारोबार गर्ने यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४ ले बढेर अन्तिम मूल्य रू. ८९५ कायम भएको हो ।

प्रतिक्रिया