सोमबार, वैशाख १५, २०८२

जितिया पर्व सम्पन्न

नेपालखोज २०७७ भदौ २६ गते ७:३१

जनकपुरधाम । मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् ।

सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यो पर्वमा सन्तानको आरोग्य कामनासहित कठोर व्रत गरिने चलन छ । विगतमा छोरा हुनेले मात्र व्रत वस्ने परम्परा रहेकामा आमाहरूले हाल सो परम्परा तोड्दै छोराछोरी दुवैको सुख, शान्ति र समृद्धिका लागि व्रत बस्ने गरेका छन् ।

‘जितिया पाबनि बड भारी’ (जितिया पर्व धेरै ठूलो छ) भन्ने कथन अनुरूप व्रती आमाहरूले निराहार उपवास बसी व्रतलाई खण्डित हुन नदिने सङ्कल्प गरेका हुन्छन् ।

जितिया पर्व मैथिल संस्कृतिको एउटा मुख्य पर्व हो । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ । विशेषरूपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यस अन्तर्गत यस व्रतको सप्तमी तिथिमा व्रतीले नहाय खाय, तेलखरि र पितराइन, रातिको अन्तिम प्रहरमा ओठगन गर्ने चलन छ ।

प्रतिक्रिया