शुक्रबार, चैत १६, २०८०

असोज १५ गतेदेखि आन्तरिक हवाई उडान शुरु गर्ने तयारी

नेपालखोज २०७७ भदौ २६ गते ११:५९

काठमाडौं । असोज १५ गतेदेखि सरकारले आन्तरिक उडान खुला गर्ने तयारी गरेको छ ।

यसअघि भदौ १ गतेदेखि खुला गर्ने भनिएता पनि खुला हुन सकेको थिएन । पर्यटनमन्त्री योगेश भट्टराईले आन्तरिक उडान खुला गर्नका लागि सीसीएमसीमा प्रस्ताव पठाएको जानकारी दिए ।

बिहीबार आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले आफूले असोज १ गतेदेखि आन्तरिक उडान शुरु गर्ने प्रस्ताव गरे पनि असोज १५ गतेदेखि शुरु हुन सक्ने बताए ।

मन्त्री भट्टराईले भने, ‘आन्तरिक उडान शुरु गर्नका लागि आजै सीसीएमसीमा प्रस्ताव पठाएको छु, विगतमा दैनिक औसतमा ३ सय उडान हुने गरेकोमा अहिले २५ प्रतिशत मात्रै उडान शुरु गर्ने प्रस्ताव गरेको छु’ ।

दशैं र तिहार जस्ता चाडपर्व पनि नजिकिएको र यसले यात्रुको चाप बढाउने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आन्तरिक हवाई उडान शुरु गर्ने तयारी गरिएको उनले बताए । मन्त्री भट्टराईले आन्तरिक पर्यटन प्रबद्र्धनका लागि सरकारी र सार्वजनिक कार्यालयमा सातामा २ दिन बिदा दिने प्रस्ताप गरेको उनले जानकारी दिए ।

‘तत्काल विदेशी पर्यटक आउने अवस्था छैन, आए पनि कम संख्यामा मात्रै आउने छन्, यस्तो अवस्थामा हामीलाई अझै १/२ वर्ष जति लाग्न सक्छ । त्यसैले सरकारी र सार्वजनिक कार्यालयमा २ दिन बिदा गरौं भन्ने प्रस्ताव समेत गरेको छु्,’ उनले भने । उनका अनुसार शुक्रबार र शनिबार बिदा भयो भने कर्मचारीलाई २ दिन घुम्न जान पनि पाउने र वर्षमा ५० लाख मानिसले आन्तरिक पर्यटनमा योगदान पुर्याउने हो भने यसले पर्यटन क्षेत्र सर्भाइभका लागि पनि सहयोग पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

प्रतिक्रिया