कोरोना बीमाबाट ७३ करोड संकलन, दावी भुक्तानी भने ३ करोड मात्र
काठमाडौं । विश्वभरमहामारीका रुपमा फैलिएको कोभिड– १९ (कोरोना भाईरस) संक्रमितहरुको संख्या नेपालमा पनि दिनप्रतिदिन बढ्दै गईरहेको छ । कोरोना भाईरसका कारण मानव अस्तित्वमाथि नै प्रश्न उठिरहेका बेला आम नागरिकहरुको सुरक्षाका लागि राज्यले विभिन्न सुरक्षित योजनाहरु सहित कोरोना संक्रमण न्यूनिकरण गर्ने अभियानमा जुटिरहेको पनि छ ।
कोरोना संक्रमणका कारण मानवमा हुन सक्ने क्षतिसँगै त्यसबाट हुन सक्ने क्षति न्यूनिकरण गर्नका लागि केही बीमा कम्पनीहरुले कोरोना स्वास्थ्य बीमाको अवधारणा ल्याएका मात्र होइन बीमा गराउने अभियान नै चाले । तत् पश्चात वीमा समितिले बीमा कम्पनीहरुलाई कोरोना स्वास्थ्य बीमा गर्न २०७७ वैशाख ७ गतेबाट स्वीकृत समेत प्रदान गर्यो ।
सोही आधारमा बीमा कम्पनीहरुले कोरोना स्वास्थ्य बीमालाई तीव्रता दिए । २०७७ भाद्र २४ गतेसम्म २० वटा निर्जिवन बीमा कम्पनीले १२ लाख ८० हजार ५२ जनालाई बीमा गराए । जसबाट ७३ करोड २० लाख ३० हजार ४ सय ३९ रुपैयाँ बराबरको रकम संकलन गरिसकेको बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताएका छन् ।
बीमा कम्पनीहरुले ७३ करोड भन्दा बढी रकम संकलन पश्चात फेरि बीमा समितिले कोरोना संक्रमणको पुष्टि सरकारी स्वामित्वको प्रयोगशालाले गरे पश्चात मात्र भुक्तानी दिने निर्णय गर्यो । जुन निर्णय एक साता पनि टिक्न सकेन । यद्यपी कोरोना स्वास्थ्य बीमा बापत संक्रमित व्यक्तिहरुले ३ करोड ३१ लाख भुक्तानी लिईसकेको अधिकारीले नेपाल खोजलाई बताए ।
अधिकारीका अनुसार १ लाख बराबर कोरोना बीमा गराएका ३ सय १९ जना, र ५० हजार बराबरले कोरोना बीमा गराएको २४ जना बीमित भुक्तानी पाईसकेका छन् भने १ हजार ३ सय ६२ जना बीमितको दाबी भुक्तानीका लागि प्रक्रियामा रहेका छन् ।
प्रतिक्रिया