बिहीबार, वैशाख ६, २०८१

दशैका लागि ६ करोडको खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी

नेपालखोज २०७७ भदौ २६ गते १५:३८

काठमाडौं । खाद्य संस्थानले यसपालिको दशैंका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार उक्त संस्थाले ६ करोड रूपैयाँ बराबरका १६ सय खसीबोका र १४ सय च्याङ्ग्रा ल्याउने गरी खसीबोका खरिदका लागि ३ करोड ३८ लाख ६४ हजार र च्याङ्ग्राका लागि २ करोड ६१ लाख रुपैयाँ गरी ५ करोड ९९ लाख बराबरको रकम विनियोजन गरिएको बताए ।

यो वर्ष दशैं ढिला भएकाले असोज दोस्रो साताबाट मात्रै तयारी गर्ने छौं उनले भने, ‘खाद्य कम्पनीमार्फत वर्षेनी दशैंका लागि खसीबोका ल्याउने गरेका छौं त्यही अनुसार यो महामारीका बीच पनि ल्याउने तयारी गरिएको छ ।’

कोरोनाको महामारीले देशको आर्थिक तथा सामाजिक जनजीवन शिथिल बनेको छ । यसले अधिकांश उद्योग, व्यापार व्यवसाय ओरालो लाग्दै गएको छ । तर विशेष गरी दशैका लागि धेरै माग हुने खसीबोका र च्याङ्ग्राको माग नघट्ने अनुमान रहेको उनको भनाइ छ ।

गत वर्षमा खाद्य कम्पनीले दशैंका लागि करिब ५ करोड रुपैयाँको खसीबोका र च्याङग्रा ल्याएको थियो । तर अहिले करिव १ करोड बढी मूल्यका ल्याउने तयारी गरेको छ । त्यस्तै गत वर्ष लहान, नेपालगञ्ज र मकवानपुरबाट खसीबोका र च्याङग्रा ल्याउने गरेको थियो । तर अहिले टेण्डर नै नगरेको हुनाले कहाँबाट ल्याउने भन्ने एकिन नभएको विभागले जनाएको छ ।

वर्षेनी कम्पनीले सोझै किसानहरुबाटै खसीबोका खरिद गरेर ल्याउने गरेको छ । यसका लागि जिल्ला खाद्य तथा व्यवस्था समितिले मूलय तय गर्छ । उक्त मूल्यमा खरिद गरिएका चौपाया काठमाडौंसम्म ढुवानी गर्न टेन्डर निकालेर ठेक्का दिने गरिन्छ ।

प्रतिक्रिया