बिहीबार, चैत १५, २०८०

सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला बनाउने समयावधि थप

नेपालखोज २०७७ भदौ २६ गते २१:०८

काठमाडौं । कोरोना महामारीले नेपाल सरकारको डिजिटल नेपाल अभियानअन्तर्गत सामुदायिक विद्यालयहरुलाई सूचना प्रविधिमैत्री बनाउने कार्यलाई पनि प्रभावित पारेको छ । देशभरका कतिपय विद्यालयहरुलाई क्वारेन्टाइन बनाइएको तथा कतिपय बन्द अवस्थामा रहेकाले उक्त कार्य प्रभावित बनेको हो ।

शुक्रबार नेपाल दूरसंचार प्राधिकरणले प्रेस विज्ञप्ती जारी गर्दै सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न विद्यालय खुलेको ४५ दिनभित्र कार्य सम्पन्न गर्नेगरी समयावधि थप गरेको जनाएको छ । साथै, प्रयोगशाला सम्वन्धी तालिम दिने कार्य पनि बन्दाबन्दी फकुवा हुनेवित्तिकै गरिने जनाएको छ ।

सामुदायिक विद्यालयमा गरिने शिक्षण विधिलाई गुणस्तरीय तथा प्रतिस्पर्धी बनाउन सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने सामुदायिक विद्यालयहरुलाई सूचना प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल सरकारको निर्देशन तथा सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि, २०७५ अनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रमा कम्तिमा ४ वटा सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने कार्यक्रम रहेकोमा संचार तथा सूचना प्रविधि मन्त्रालयले देशभरका १ हजार सामुदायिक विद्यालय छनौट गरी प्राधिकरणमा पठाएको विज्ञप्तीमा भनिएको छ ।

१ हजार विद्यालयमध्ये हालसम्म ८९८ वटमा तोकिएका उपकरण पुर्याई सकिएको तथा ७२४ वटामा आवश्यक उपकरणहरु जडान भइसकेको पनि जनाइएको छ ।

प्राधिकरणले सूचना प्रविधि प्रयोगशाला जडान कार्य सम्पन्न भएका स्थानहरुमा सम्वन्धित विद्यालयसँग भएको समझदारीअनुसार केही समस्या वा गुनासो भए प्राधिकरणमा सूचित गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया