मंगलबार, वैशाख ४, २०८१

ट्रान्सफर स्टेशनमा फोहोर शुन्यः बर्खामा पहिलो पटक यो अवस्थामा आएको बिभागको दावी

नेपालखोज २०७७ भदौ २८ गते १६:३९

काठमाडौं । काठमाडौं महानगरले फोहोर संकलन र ढुवानीका लागि प्रयोग गर्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशन अहिले फोहोर शुन्य भएको छ । बर्खायाममा यो अवस्था ल्याउनु सजिलो नभएता पनि कोभिड महामारीका बेलामा ज्यानको माया नगरी सबै कर्मचारीले काम गरेकाले यो अवस्था ल्याउन सकिएको हो ।

वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले भने, बिगत बर्षमा बर्खामा आफ्नो प्रयासले मात्र नहुने भएपछि कहिले गाडी भाडामा लिएर, कसैलाई तेल दिएर फोहोर ढुवानी गराउने गरिएको थियो । यस बर्ष हामीले फोहोर लैजान कसैलाई तेल दिएका छैनौं । कुनै गाडी भाडामा लिएका छैनौं । उनका अनुसार यस बर्ष ल्याण्डफिल साइट र ट्रान्सफर स्टेशनमा प्रयोग गर्न कुनै डोजर पनि भाडामा लिइएको छैन । यसबाट महानगरको करीब १२ लाख रुपैयाँ बचत भइसकेको छ ।

सिसडोलमा फोहोर बोकेर जाने ठूला सवारी, जेसिभि, लोडर समयमा नै मर्मत ग¥यौं । ल्याण्डफिल साइटमा प्रयोग गर्न खरिद गरिएको डोजर समयमा नै आइपुग्यो । प्रगतिका बिषयमा जानकारी दिँदै फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख इञ्जिनियर निर्मलराज बराल भन्छन् — विगत बर्षहरुमा हामी सडक हेर्दैनथ्यौं । यस बर्ष सडकको अवस्था हामी आफैंले हे¥यौं । सडकमा भत्किने समस्यालाई तत्कालै सुधार गरेपछि थप भत्किन पाएन । यसकारण पनि बर्खामा साइटमा पुग्न सजिलो भयो ।

कोभिडका कारण उपत्यकामा फोहोर उत्पादन घटेर व्यवस्थापकीय खर्च घटेको र ट्रान्सफर स्टेशनमा फोहोर शुन्य भएको त होइन? प्रश्नको उत्तरमा महाशाखा प्रमुख बराल थप्दै भन्नुहुन्छ — कोभिडले फोहोरको परिमाण घटेको छैन । अहिले पनि दैनिक औसतमा १२० देखि १३० वटासम्म ठूला सवारीले साइटमा फोहोर पुर्‍याइरहेका छन् ।

यस अघि गएको बर्ष कार्तिक ३ स्टेशनलाई शुन्य बनाएर अवस्थालाई कायम राख्ने योजनाअनुरुप काम भइरहेको थियो । वीचमा सवारी साधन, ल्याण्डफिल साइट र त्यहाँ पुग्ने सडकका कारण केही फोहोर स्टेशनमा रहने सकिने हुँदै आएकोमा भदौ २६ गते स्टेशन शुन्य फोहोर भयो । आज पनि स्टेशनमा फोहोर शुन्य नै छ ।

त्योभन्दा पनि अघिल्लो समय हेर्दा २०७२ भदौ २२ गते मंगलबारका दिन पनि ट्रान्सफर स्टेशनलाई फोहोर शुन्य बनाइएको थियो ।

टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको योजना छ ।

प्रतिक्रिया