बुधबार, असार १८, २०८२

बैतडी कोरोना संक्रमित शून्य जिल्ला बन्यो

नेपालखोज २०७७ भदौ ३० गते ७:५५

बैतडी । जिल्लाका सबै कोरोनाका संक्रमित सबै डिस्चार्ज भएपछि बैतडी तत्कालका लागि कोरोनाको सक्रिय संक्रमित शुन्य जिल्ला भएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहका ३ सय ७५ जनामा संक्रमण पुष्टि भएको र सबै डिस्चार्ज भइसकेकाले तत्कालका लागि सक्रिय संक्रमित शून्य रहेको जिल्ला भन्न सकिने स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए । पाटन नगरपालिकाका १ जना संक्रमित पनि सोमबार डिस्चार्ज भएसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य भएको हो । गत जेठ ९ गते पहिलो पटक जिल्लामा एक थुनुवामा कोरोना पुष्टि भएको थियो ।

३ सय ७५ जना नेपाल सरकारको मापदण्डअनुसार संक्रमणपछि क्वारेन्टाइन बसेका, केहीको दोस्रो र केहीको तेस्रो पटक कोरोना परीक्षण गरेर घर पठाइएको जोशीले जानकारी दिए । जिल्लामा अहिलेसम्म ४ हजार १ सय २९ जनाको स्वाब संकलन गरिएकोमा अब ३२ जनाको मात्रै रिपोट आउन बाँकी रहेको छ ।

उनले भने– ‘अहिले नै जिल्ला कोरोनामुक्त भन्न सकिने अवस्था छैन । अहिलेका लागि सक्रिय संक्रमित शून्य छन् । स्वाब संकलन कार्य अझै पनि जारी छ ।’ जिल्लामा संक्रमितका आफन्तहरुको समेत स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएकोमा सबै रिपोट नेगेटिभ आएकाले समुदायमा कोरोना नफैलिएको उनले बताए ।

प्रतिक्रिया