आइतबार, वैशाख ७, २०८२

भोलिदेखि आन्तरिक हवाई उडान र सार्वजनिक सवारी संचालन

नेपालखोज २०७७ भदौ ३१ गते ६:०८

काठमाडौं । आन्तरिक हवाई उडान भोलीदेखि सञ्चालनमा आउने भएका छन् । कोरोना संकटका कारण बन्द भएको उडान १७७ दिनपछि सञ्चालनमा आउन लागेका हुन् । हिन्दू नेपालीहरुको महान चाड दशैं तिहार नजिकिँदै गर्दा नागरिकको आवतजावतमा सहजता होस भन्नका लागि सरकारले लामो दूरीका स्थल यातायात सञ्चालन गर्न अनुमति दिएको हो ।

लामो दूरीका यातायात पनि करिब १७८ दिनपछि सञ्चालनमा आउने भएका छन् । सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा सोमबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । प्रवक्ता ज्ञवालीकाअनुसार आन्तरिक उडान र लामो दूरीका सार्वजनिक यातायातसँगै बिहीबारबाट होटल, रेष्टुरेन्ट, ट्राभललगायतका सबैजसो व्यवसाय सञ्चालनमा आउनेछन् ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर यी व्यवसाय खुला गर्ने निर्णय भएको उनले बताए । लामो दूरीका सार्वजनिक बस सञ्चालनका लागि जनस्वास्थ्यको संवेदनशीलतालाई ध्यान दिँदै निश्चित शर्त राखिएको छ । जसमा सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्नुपर्ने छ, जसमा भौतिक दूरी कायम गरेर सीट लहरमा एक जनामात्र यात्रु राख्न पाइने जनाइएको छ । यात्रुले मास्क अनिवार्य लगाउनु पर्ने, सवारीसाधनको ढोकामा स्यानिटाइजर राख्नुपर्ने, चालक, सहचालकले पनि मास्क, भाइजर र पन्जा अनिवार्य लगाउनु पर्नेछ । यस्तै, सवारीसाधनलाई दैनिक निसंक्रमित गर्नु पर्ने छ ।

व्यवसायीले तोकिएको भाडामा अधिकतम ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरिएको छ । यस सम्बन्धमा भौतिक पूर्वाधार मन्त्रालयल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गर्ने अन्य मापदण्ड अनिवार्य पालना गर्नु पर्ने भनिएको छ । सरकारले तोकेको मापदण्ड पालना भए नभएको अनुगमन र निरीक्षणको जिम्मेवारी भने यातायात विभाग र ट्राफिक महाशाखाको समन्वयमा गर्नु पर्ने सरकारले भनेको छ । संक्रमण बढिरहेको अवस्थामा स्थानिय प्रशासनले थप निर्णय गर्ने अधिकार दिएको छ ।

साथै होटल तथा रेष्टुरेन्ट, ट्राभलमा पनि स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूर्ण रुपमा पालना गर्नु पर्ने भनिएको छ । विमान कम्पनीले पनि सीट क्षमताको ५० प्रतिशत मात्र यात्रु लिएर उडान भर्ने पाउने छन् । भौतिक दूरी कायम गर्दै १ सीटमा एक जनामात्र र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया