शनिबार, असार ९, २०८१

लोक सेवाको रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

नेपालखोज २०७७ असोज ९ गते २०:२३

काठमाडौं । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले आज शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीकाअनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक १८, १९ र २० गते हुने छ । व्यवस्थापिका संसदतर्फ (आन्तरिक प्रतिस्पर्धा)को पहिलो पत्रको परीक्षा कात्तिक २१ गते र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते हुने छ ।

यसैगरी परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कात्तिक २३ गतेदेखि सुरु हुने छ । नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा मंसिर ७ गते हुने छ । तृतीय पत्रको परीक्षा मंसिर ८, ९, १० र ११ गते तोकिएको छ ।

परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने मंसिर १२ गते हुने आयोगले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । त्यस्तै स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको अन्तर्वार्ता तथा कम्प्युटर सीप परीक्षण यही असोज २५, २६ र २७ गते हुने छ ।

अन्तरवार्ता र कम्प्युटर सीप परीक्षण लोक सेवा आयोगकै केन्द्रीय कार्यालय अनामनगरमा बिहान ७ः२० बजेबाट सुरु हुने आयोगको सूचनामा उल्लेख छ । पूर्वप्रकाशित लिखित नतिजाको सूचनामा तोकिएअनुसारकै कागजात लिएर निर्धारित समयभन्दा एक घण्टा अगाडि नै परीक्षा केन्द्रमा आउन आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया