बुधबार, असार ६, २०८१

साझेदारलाई सँगै लिएर समस्या समाधान गर्न उपाध्यक्ष शर्माको जोड

नेपालखोज २०७७ असोज ११ गते १५:१२

काठमाडौं । कोभिड –१९ का कारण भयावह बन्दै गएको नेपालको उद्योग व्यवसायलाई पुर्नसञ्चालनका लागि साझेदार निकायहरुलाईसँगै लिएर समस्या समाधान गर्नुपर्ने नेपाल महिला चेम्वरकी उपाध्यक्ष अम्विका शर्माले जोड दिएकी छिन् ।

आईतवार आयोजित वेविनारमा प्रमुख वक्ताका रुपमा रहेकी शर्माले कोभिड–१९ को महामारीले हरेक क्षेत्रलाई समस्या पारिरहेका बेला उद्योगधन्दा तथा वन्द रहेका व्यवसायलाई सुरक्षित तवर सञ्चालन गरी व्यवसायलाई बचाउनु पर्नेमा उनले जोड दिएकी थिईन ।

उनले कोभिड १९ को महामारीले यतिबेला सवै क्षेत्र प्रभावित बनेको तथा यसले हरेक व्यवसायमा समस्या रहेको बताइन् । उनले भनिन्, ‘सरकारी तथ्यांकहरु अध्ययन गर्दा व्यवसायीहरुलाई अझै समस्या पर्ने सम्भावना बढेको छ । देशभरी कोरोना संक्रमितहरुको संख्या बढ्दै गईरहेको देखिन्छ । जसले यो महामारीको कहिलेसम्म जाने हो भन्ने अड्कल गर्न सकिएको छैन । जसले गर्दा हामीले सम्पूर्ण व्यवसायलाई बचाउनु पर्ने अवस्था देखिन्छ । अहिलेको समय हतारमा वा आत्तिएर होइन आफ्नो मनोवल उच्च राख्दै आफ्नो व्यवसायलाई फेरि पुरानै अवस्थामा फर्काउनु पर्ने अवस्था आएको छ ।’

कार्यक्रममा एउटा रणनीति प्रस्तुत गर्दै शर्माले आफू सुरक्षित हुँदै सम्पूर्ण क्षेत्रलाई सुरक्षित गराउनु पर्ने जिम्मेवारी व्यवसायीहरुको काँधमा आएको बताइन् । अहिलेको विषम परिस्थितिमा कोरोना महामारी शुरु भए पश्चात् सरकारले जसरी काम गरिरहेको थियो त्यसले राहतका लागि केही हदसम्म काम गरेको भएपनि सहि काम गरेको छ भन्ने अवस्था नभएको बताउँदै सँधै यसरी चल्न सक्ने अवस्था पनि नरहेको र सरकारले ल्याएको मौद्रिक नीति र वित्तिय नीतिहरुको कार्यान्वयन सहज हुन्छ र हामी विभिन्न व्यवसायमा संलग्नहरुले राहत पाउने सम्भावना नदेखेको बताइन् ।

वेविनारमा उनले भनिन्, ‘व्यापार ऋणको पुन सेड्युलिङ्ग र छुट जस्ता विषयहरु मुख्य व्यवसाय क्षेत्र पर्यटनलगायतमा आउनु पर्दछ । जसले हामी कोभिड–१९ को महामारीको सामना गर्दै व्यवसायलाई सुरक्षित गराउन सक्छौं । अहिले ठूला उद्योग, व्यवसायहरु वन्द रहेका छन् व्यवसायीहरुमा निराशा पैदा भईसकेको छ । अहिले स्थानीय व्यापारहरु सहज देखिएको र उनीहरु पारदर्शिता रुचाउने भएकाले हामीले गुमाएका समुदाय निर्माण गर्नका लागि यही रणनीतिक कार्यान्वय हुनुपर्ने देखिन्छ ।’

शर्माले प्रस्तुत गरेको रणनीतिको पूर्णपाठः
– हामीसँग साझेदारीतामा आवश्यकता कत्तिको छ र कति तीव्र हुन कुन तहसँग हामीले सहकार्य गर्न सक्छौं भन्ने कुरा बुझ्नु आवश्यक छ ?
को हुन् त हाम्रा साझेदारहरु ? कर्मचारीहरु, ग्राहक, मालिक वा समुदाय । अवको आवश्यकता भने नयाँ र रचनात्मक सोचसहित आत्मनिर्भर बन्ने हुनु जरुरी छ । साझेदारहरुको आवश्कता अनुसार उनीहरुको हितमा ध्यान दिएर काम गर्नुपर्ने महत्वपूर्ण छ । चाहे त्यो किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको मूल्य निर्धारण होस् या कर्मचारीहरुको तलव सहजीकरणका कुराहरु । अहिले उत्पादन सामग्री भण्डार, त्यसलाई बजारीकरणका समस्या, श्रमिकहरुलाई सुरक्षित कार्यस्थलको प्रवन्ध लगायतका विषय बुझी सहकार्य गरी अगाडि बढ्नु पर्दछ ।

– कोभिडको अनिश्चितताको वीचमा सहि निर्णय लिनु आवश्यक :
विगतमा पनि हामी व्यवसायीले ठूलाठूला राष्ट्रिय संकटहरु भोगिसकेका छौं । त्यस्तै वन्द हड्तालदेखि भूकम्पसम्म खेपिसकेका छौं । हामी जे गर्छौं भन्छौं, त्यो गरिरहेका छैनौ । सरकारले हामी व्यवसायीहरुलाई आश्वासन दिएपनि समस्या समाधान भएपश्चात् खासै कार्यान्वयन गरेको देखिँदैन । अहिलेको समय भनेको आम व्यवसायी र उपभोक्ता समेतलाई लक्षित गरी बनाएका नियम अक्षरस पालन गराउनेतर्फ निर्णय लिन सक्नु पर्दछ ।

सर्वप्रथम त सरकारले हामीलाई व्यापारिक लोनको ब्याजमा सहुलियत दिनुपर्छ । धेरै व्यवसाय धरासायी भएका छन् । व्यापारिक लोन तिर्न नसक्नेलाई सरकारले थप समय दिनुपर्छ । पर्यटक क्षेत्रलाई विशेष सहुलियत चाहिन्छ । सरकारसँग विश्वास टुटिसकेको यो अवस्थामा आम जनताहरु अहिले सानोसानो टुक्रे व्यापारमा भरोसा गर्न थालेका छन् । यो सम्पूर्ण देश विकासमा नकारात्मक कुरा हो । कोभिड–१९ का कारण भविष्यमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न म केही साधारण तर अति नै प्रभावकारी सूत्रहरु बताउन जाँदैछु ।

१. समस्या बुझौं
सवैभन्दा पहिले समस्या बुझ्न जरुरी छ । समस्या त बुझ्ने तर क–कसको ? होइन समस्या सवैको बुझ्ने । कोभिड–१९ले सवैलाई ग्रसित बनाएको छ । व्यापारी, कामदार, डक्टर, नर्स, टीचर, मजदूर आदि सवैका समस्या बुझ्नै पर्छ । समस्या पत्ता लगाइसकेपछि कुन समस्या कति गम्भीर छ, छुट्याएर समाधानको बाटोमा लाग्नुपर्छ । गम्भीर समस्यालाई पहिले समाधान गर्ने, अनि अरु अरु । यदि कुनै व्यापारीले कोभिडको समस्या देखाएर सामान महंगोमा बेचेको छ भने त्यसलाई तुरुन्त कारवाही गर्नुपर्छ । फ्रन्टलाइनमा काम गर्नेहरुलाई मनोबल बढाउन इन्स्यूरेन्स दिने या तलब बढाउने काम गर्न पछि हट्नु हुँदैन । कसैको गोदाम बन्द भएर सामान ढुवानीमा समस्या भएको छ भने पनि त्यसलाई तुरुन्त खोलेर समस्याको समाधानतर्फ लाग्नु जरुरी हुन्छ ।

२. एकछिन रोकिएर, विचार गरेर अनि योजना बनाएर अघि बढ्ने
यस्तो विपद्मा सरकारको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । निर्णय लिने शक्ति पनि सरकारसँगै हुन्छ । यस्तो अवस्थामा सरकारले गलत निर्णय लिन पनि सक्छ । त्यसैले सरकारले बुद्धिजीवि, व्यापारी तथा जनमानससँग सल्लाह लिएर मात्र निर्णय गर्न अत्यन्त जरुरी हुन्छ । २०७२ को भूकम्पपछि पनि हामी सम्हालिएर अगाडि बढ्यौं भने यो कोभिडपछि पनि हामी सम्हालिएर अगाडि बढ्ने नै छौं । हामी सरकारलाई सहयोग गर्न तयार छौं तर सरकारबाट पनि त्यसको प्रत्याभूति चाहन्छौं ।

३. इन्टरनेटको उपयोग
दुनियाँसँग नेपाल पनि अगाडि बढ्दै छ । यो कोभिडका कारणले त झनै इन्टरनेटको आवश्यकता बढेको छ । अनलाइन क्लास, अनलाइन बिक्री, अनलाइन मिटिङ आदि… प्रायः कामहरु अनलाइनबाटै हुने भएकाले पनि यस्तो भएको हो । समय अनुसार हामी पनि प्रविधिमैत्री बनेर नै अगाडि बढ्नु पर्छ । यो समयको माग हो । यसलाई ध्यान दिन जरुरी हुन्छ ।

मलाई थाहा छ, भन्न सजिलो, गर्न गाह्रो । हामी व्यापारी हौं । सँधै कठीनाईसँग लडेका लड्यै छौं । यो कोभिडसँग हामी मात्रै कहाँ हो र, यो दुनियाँ पनि लडि नै रहेको छ नि ।

चिन्ता गरेर केही हुँदैन । एक दिन हाम्रै जित हुनेछ । न आत्तिनुहोस् । हामी सवै मिलेर संघर्ष गरौं । अन्धकार रात पछिको बिहानीमा उदाउँदै गरेको सूर्यले हामीलाई पर्खिरहेको छ ।

धन्यवाद
२०७७ असोज ११

 

प्रतिक्रिया