शनिबार, वैशाख १५, २०८१

उपभोक्ता मुद्रास्फीति ३.४६ प्रतिशतले घट्यो

नेपालखोज २०७७ असोज ११ गते १८:३४

काठमाडौं । २०७७ साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.९५ प्रतिशत रहेको थियो । पहिलो महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.०४ प्रतिशत रहेको छ ।

२०७६ साउनको तुलनामा २०७७ साउनमा दाल तथा गेडागुडी, माछा तथा मासु र सुर्तिजन्य वस्तुको मूल्य वृद्धि उच्च रहेको छ । २०७७ असारको तुलनामा २०७७ साउनमा तरकारीको मूल्य २८.२१ प्रतिशतले बढेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.३१ प्रतिशत, तराईमा ४.०२ प्रतिशत, पहाडमा २.७२ प्रतिशत र हिमालमा ४.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ साउनमा यी क्षेत्रहरुमा क्रमशः ८.६३ प्रतिशत, ६.४६ प्रतिशत, ६.०० प्रतिशत र ५.५७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

यस्तै २०७७ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४४ प्रतिशत, ८.१० प्रतिशत र २.६३ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य २.३३ प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया