सोमबार, असार ४, २०८१

गुल्मीमा अनुदानमा आएको ट्र्याक्टरमा पनि किसानबाट रकम उठाइँदै

नेपालखोज २०७७ असोज १४ गते १४:१६

तम्घास । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले अनुदानमा दिएको ट्र्याक्टरबाट सप्लायर्सको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले किसानबाट रकम उठाएको खुलेको छ ।

आर्थिक वर्ष २०७६/७७ को कार्यक्रमअनुसार गाउँपालिकाले ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको थियो । उनीहरुबाट प्रतिट्र्याक्टर एक हजार ५०० का दरले सप्लायर्स कम्पनीले रकम असुली गरेको पाइएको छ ।

अनुदानको ट्र्याक्टर खरिदका लागि गाउँपालिकाको छनोटमा परेको सप्लायर्स कम्पनीले फिटिङ गरेको, तेल तथा यातायात खर्चको बहाना बनाएर किसानबाट रकम असुली गरेको स्थानीय किसान बाबुराम ज्ञवालीले बताए । “ट्र्याक्टर लिन जाँदा एक्कासी १ हजार ५०० का दरले रकम मागियो, हामी त अचम्ममा प¥यौँ”, उनले भने, “विना रसिद त्यसरी किसानबाट रकम लिनु उचित होइन ।”

त्यसभन्दा पहिले नै ट्र्याक्टरको ५० प्रतिशत मूल्य रु ३२ हजार ५०० आफूहरुले बैंकमा जम्मा गरेको भन्दै उनले १ हजार ५०० बुझाउनेबारे कुनै जानकारी नभएको बताए । यस्तै अर्का किसान सुब्बा बस्नेतले पनि सप्लायर्सले गैरकानूनी तरिकाले गाउँपालिकाका कर्मचारी र ठेकेदारको मिलेमतोमा किसानबाट रकम असुली गरेको गुनासो गरे । उनले भने, “ट्र्याक्टर लिन जाँदा एक्कासी पैसा मागे, खोजेर भए पनि दियौँ र ट्र्याक्टर ल्यायौँ ।” उक्त रकम किन र कुन प्रयोजनका लागि तिरेको भन्नेबारेमा आफू अझै पनि अनभिज्ञ भएको उनले बताए ।

ठेकेदार र गाउँपालिकाका कर्मचारीको मिलेमतोमा किसानबाट रकम उठाइएको भन्दै उनले तत्काल उक्त रकम फिर्ता गर्न र गैरकानूनी ढङ्गले रकम उठाउनेमाथि कारवाही गर्न माग पनि गरेका छन् । सप्लायर्स कम्पनीले ३४ जना किसानबाट प्रतिकिसान एक हजार ५०० का दरले कूल रु ५१ हजार गैरकानूनी ढङ्गबाट असुली गरेको छ ।

गाउँपालिकाले आव २०७६/७७ मै ट्र्याक्टर वितरण गर्नुपर्ने थियो । त्यसो गर्दा उक्त ट्र्याक्टर खरिदबापतको भुक्तानी असार मसान्तसम्म मात्रै हुन्थ्यो तर सम्बन्धित सप्लायर्स र कर्मचारीको मिलेमतोमा साउनको तेस्रो हप्तामा मात्र किसानलाई ट्र्याक्टर उपलब्ध गराइएको स्थानीय युवा किसान पाण्डेले बताए । “ट्र्याक्टरका लागि आवश्यक ५० प्रतिशत रकम किसानले पहिले नै बुझाइएकाे थियो”, उनले भने, “पछि बुझाउने रकमबारे पूर्वजानकारी पनि थिएन र रसिद पनि दिइएको छैन ।”

गाउँपालिकाका सूचना अधिकारी ईश्वरी न्यौपानेका अनुसार गाउँपालिकाले गत आवको कार्यक्रमअन्तर्गत वडा नं १ मा दुई, २ मा आठ, ४ मा सात, ५ मा १२ तथा वडा नं ६ मा चार जना किसानलाई हाते ट्र्याक्टर प्रदान गरेको छ । उक्त अनुदानका लागि रु ११ लाख ५० हजार गाउँपालिका र त्यति नै रकम किसानले जम्मा गरेका हुन् ।

गाउँपालिकाका जिन्सी शाखा प्रमुख मनिष पाण्डेले आफूहरुले सकेसम्म न्यूनदरमै किसानलाई ट्र्याक्टर उपलब्ध गराउन खोजेको तर पछि सप्लायर्स कम्पनीले रकम उठाएको प्रतिक्रिया दिए । ठेकेदारले मिस्त्री चार्ज, तेल र यातायात खर्चको बहानामा किसानबाट रकम उठाएको उनले बताए । यसमा आफूहरुको मिलेमतो नभएको र ठेकेदारले झुक्याएको उनले स्पष्ट पारे ।

गाउँपालिकाका अध्यक्ष नीकलण्ठ गौतमले ठेकेदारले किसानबाट रकम असुल गरेकोबारे आफूलाई अहिलेसम्म कुनै जानकारी नभएको प्रतिक्रिया दिए । उनले गैरकानूनी ढङ्गबाट त्यसरी रकम उठाउने सप्लायर्सलाई स्पष्टीकरण सोधिने र छानविनका क्रममा दोषी ठहरिए कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ट्र्याक्टर सप्लायर्स कम्पनी गिरिधरी कृषि मेसिनरी सप्लायर्सका सञ्चालक गिरिधरी चौधरीले आफूले गाउँपालिकाका कर्मचारीमार्फत किसानले पछि तिर्नुपर्ने शुल्कका बारेमा जानकारी गराएको बताए । ट्र्याक्टरको मोबिल, तेल, मिस्त्रीलगायत कामका लागि खर्च भएको रकम आफूले लिएको स्वीकार गरेका छन् । गाउँपालिकामा ‘कोटेशन’ दर्ता गर्दा नै पछि तिर्नुपर्ने शुल्क उल्लेख नगरेकाले आफूले अहिले रकम लिएको उनले प्रतिक्रिया दिए ।

प्रतिक्रिया