शुक्रबार, वैशाख १४, २०८१

चाडपर्वमा कोरोना संक्रमण ह्वात्तै बढ्छ : सचेत बनौं

नेपालखोज २०७७ असोज १८ गते ९:०६

काठमाडौं । नेपालीहरुको महान चाड दशैंतिहार आउन १ महिना पनि बाँकी छैन् । कोरोना भाइरस संक्रमण फैलिएर नियन्त्रणमा ल्याउन हम्मेहम्मे परेको बेला अब आउदै गरेका चाडपर्वले देशभर झन कोरोना संक्रमण फैलिने उच्च जोखिम बढेको विज्ञहरुले चेतावनी दिएका छन् ।

संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले पनि यस वर्षको दशैं तिहार सकेसम्म जो जहाँ छ त्यहिबाट सामान्य मनाउन आग्रह गरेको छ । चाडपर्व मनाउन गाउँ जादा संक्रमण जोखिम हुने भन्दै सरकारले दशैं तिहार मनाउन गाउँ जाने कुरामा हत्ते नगर्न आग्रह गरेको छ । कोरोनाको उच्च जोखिम क्षेत्रहरुबाट दशैंतिहार मनाउन गाउँ जादा संक्रमणको जोखिम पनि बढ्ने हुँदा भिडभाड गरि चाडपर्व नमानाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गरेका छन् ।

मानिसको चहलपहल जति बढ्यो कोरोना भाइरस संक्रमण पनि त्यति नै बढ्दै जान्छ । चाडपर्वको समयमा मानिसको आवतजाउत बाक्लिने भएकाले कोरोना संक्रमण भयाभह हुन सक्ने आँकलन गर्न थालिएको छ । छोटो समयका लागि चाडपर्व मनाउन मात्रै गाउँघर जाने हो भने यस वर्ष नजाने बरु घरमै बसेर फोनबाटै आर्शिवाद लिएर मनाउनु पर्ने तर यदि लामो समय बस्ने गरि जाने हो भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जानुपर्ने जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेको भनाइ छ ।

चाडपर्वका बेला संक्रमण विस्तार हुन नदिन विशेष रणनीति अपनाउन आवश्यक रहेको विज्ञले सुझाएका छन् । सरकारले चाडपर्वको समयमा एकदमै कडा रुपमा प्रस्तुत भएर नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्डदेखि भौतिक दूर कायम गरे नगरेको हेर्न सके संक्रमण त्यति नबढ्ने तर सरकारको अहिलेको जस्तै नीति लिने हो भने संक्रमण अत्याधिक बढेर जाने जनस्वास्थ्यविद् डा पाण्डेले बताए ।

उपत्यकासहित मुलुकका अन्य भागमा पनि व्यापक रूपमा पीसीआर परीक्षण गर्नुपर्ने, कुनै स्थान विशेषमा अत्यधिक केस देखिए कम्तीमा १५ दिनदेखि अधिकतम एक महिनासम्म स्मार्ट लकडाउन, टोल स्थान विशेषमा आइसोलेसन र जनचेतना अभिवृद्घि आवश्यक रहेको विज्ञको सुझाव छ । विज्ञहरूले चाडपर्वमा राजधानी बाहिर जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्रै जन सुझाव दिएका छन् ।

काठमाडौं उपत्यकाबाट दसैं–तिहारमा एकै पटक ८० प्रतिशतसम्म जनसंख्या केही समयका लागि विस्थापित हुने हुँदा आगामी दुई साताभित्र हुने अत्यधिक व्यक्तिको विस्थापनलाई सरकारले चुनौतीका रूपमा लिएर संक्रमण नियन्त्रणका लागि थप प्रयास गर्न सकेन भने भविष्यमा मुलुकमा देखिने स्थितिबारे केही भन्न नसकिने जनस्वास्थ्य विज्ञको भनाइ छ ।

त्यसैले यस वर्षको चाडपर्वलाई आम नेपालीले पनि अप्ठेरो परिस्थितिका रुपमा लिएर भिडभाड नगरि जो जहाँ छ त्यहिबाट सामान्य रुपमाले मनाउन र सरकारले पनि अहिलेको कोरोना संक्रमण नियन्त्रणका लागि अपनाइ रहेको नीतिलाई अझ प्रभावकारी ढंगबाट लैजान जरुरी छ ।

प्रतिक्रिया