बिहीबार, वैशाख ६, २०८१

प्राज्ञिक क्षमतामा पक्षपात गर्दिन : उपकुलपति अर्याल

नेपालखोज २०७७ असोज २० गते २१:२०

गण्डकी । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले प्राज्ञिक क्षमता माथि पक्षपात नगरी अघि बढ्ने बताएका छन् ।

प्रजातान्त्रिक प्राध्यापक संघ पोखरा विश्वविद्यालयद्वारा आज यहाँ आयोजित स्वागत कार्यक्रममा उनले विश्वविद्यालयमा चुनौती र सम्भावना दुबै देखेको बताउँदै चुनौतीको सामना गर्दै सम्भावनालाई यथार्थमा परिणत गर्न पूर्व पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थी सबैबाट रचनात्मक सहयोगको अपेक्षा राखेको उल्लेख गरे । आफ्नो जीवनको अनुभव पोखरा विश्वविद्यालयको उन्नयनमा खन्याउन आँफू आतुर रहेको बताउँदै उनले विश्वविद्यालयको दीर्घकालीन र अल्पकालीन नीति बनाएर अघि बढ्ने जानकारी दिए ।

विश्वविद्यालयका अधुरा काम सम्पन्न गर्दै यसको विकास गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको र सो जिम्मेवारी पुरा गर्न दृढ सङ्कल्पित भएको उनले बताए । एक्लो व्यक्तिले केही गर्न नसक्ने हुनाले सबैको सहयोग प्राप्त गर्ने अपेक्षा व्यक्त गर्दै उपकुलपति अर्यालले आगामी चार वर्ष पोखरा विश्वविद्यालय बाहेक अन्य कतै आफ्नो ध्यान नलगाउने प्रतिवद्धता व्यक्त गरे ।

पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन डा. हरिबहादुर खड्काले लामो समय पदाधिकारी रिक्त भएकाले विश्वविद्यालय ठूलो समस्यामा फस्दै गएकाले ती समस्या समाधान गर्न सबैले दोब्बर समय दिएर काम गर्नुपर्नेमा जोड दिए । विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. विष्णुराज तिवारीले विश्वविद्यालयमा देखिएका समस्यालाई प्राज्ञिक हिसाबले समाधानका लागि अघि बढ्न उपकुलपति अर्याललाई सल्लाह दिए ।

कार्यक्रममा विश्वविद्यालयका कार्यकारी परिषद्का प्रा. डा. अजय थापा, प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति सञ्जीव थापा लगायतले विश्वविद्यालयमा विद्यमान समस्याको समाधानका लागि उपकुलपतिलाई सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया