आइतबार, असार २२, २०८२

डा. केसीसँग वार्ता गर्न सरकारद्वारा समिति गठन

नेपालखोज २०७७ असोज २२ गते ६:०२

काठमाडौं । सरकारले अनशनरत चिकित्सक प्रा. डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

शिक्षामन्त्रीस्तरीय निर्णयबाट यो समिति गठन भएको हो । डा. केसी गएको २५ दिनदेखि जुम्लाबाट सुरु गरी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनरत छन् । मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भइ आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि समिति गठन गरिएको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माकाअनुसार समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मङ्गलबारको सचिवालय बैठकमा डा. केसीको जीवन रक्षाका सन्दर्भमा छलफल हुँदा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले लागि यो विषयमा सरकार गम्भीर रहेको र वार्ताका लागि प्रक्रिया सुरु भइसकेको बताएका थिए ।

बैठकले कोरोना महामारीको विषम स्थितिमा अनशन अन्त्य गराइ वार्ताबाट समस्याको समाधान गर्न डा. केसीलाई आग्रह गरेको थियो । सरकारले डा. केसीका अधिकांश माग पूरा भइसकेको जनाउँदै आएको छ ।

प्रतिक्रिया