शुक्रबार, वैशाख १४, २०८१

कर्णाली जीप दुर्घटना : मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

नेपालखोज २०७७ असोज २२ गते ८:४६

जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जाजरकोट जीप दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति शोक व्यक्त गरेका छन्।जाजरकोटको जुनीचाँदे गाउँपालिका औंलखोलामा बुधबार भएको जीप दुर्घटनामा परी सो गाउँपालिका–११ का वडाअध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको दुखद् निधन भएको थियो ।

सो घटनाप्रति मुख्यमन्त्री शाहीले भनेका छन् – जीप दुर्घटनाका कारण जनप्रतिनिधिसहित ठूलो मानवीय क्षति भएको घटनाले प्रदेश सरकारलाई स्तब्ध तुल्याएको छ । शाहीले सो दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली एवम् शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

जुनीचाँदे जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप बुधबार सो गाउँपालिका–१ औलखोलामा दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका ११ का अध्यक्ष अमरबहादुर शाही, सोही वडाका कृतिबहादुर शाही, खेमबहादुर शाही, वडा नम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाहीको मृत्यु भएको थियो ।

दुर्घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले उपचारमा कुनै कमी आउन नदिन र बेपत्ताको खोजीमा तीव्रता दिन सम्बन्धित सबैमा आग्रह गरेका छन् । दुर्घटनाको खबर पाउने बित्तिकै उद्धार, उपचार एवम् सूचना सम्प्रेपणमा सबैलाई मुख्यमन्त्री शाहीले धन्यवाद व्यक्त गरेका छन् ।

सडक दुर्घटनाका कारण वर्षेनी ठूलो सङ्ख्यामा नागरिकको ज्यान गईरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले सडक दुर्घटना रोकथाम र न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न सम्बद्ध सबै निकायलाई आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया