बिहीबार, चैत १५, २०८०

नयाँ प्रविधि भित्र्याउने वर्ल्डलिंकको अर्को प्रयास

नेपालखोज २०७७ असोज २२ गते २०:३६

काठमाडौं । संसारको लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले वर्ल्डलिंकमार्फत् नेपालमा प्रवेश लिएको छ । नेपालको नं. १ इन्टेरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले त्यही फेसबुकसँगको साझेदारीमा अत्याधुनिक प्रविधिसहितको ‘एक्सप्रेस वाईफाई’ नेपालमा ल्याएको घोषणा गरेको छ ।

बिहीबार अनलाइन मिटिङ गर्दै वर्ल्डलिंक कम्यूनिकेसका अध्यक्ष दिलीप अग्रवाल र फेसबुकका ग्रोथ म्यानेजर अमित सिंहले फेसबुकको एक्सप्रेस वाईफाई नेपालमा चलाउने अफिसियल घोषणा गरे । सिंहले यो सहकार्यबाट नेपालको पब्लिक वाईफाई व्यवस्थित हुने बताए । एक्सप्रेस वाईफाईले इन्टरनेटको गति पनि तिव्र हुने तथा यूजर्सलाई सहज ढंगले इन्टरनेटमा जोडिइरहन मद्दत पुग्ने उनले जानकारी दिए ।

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक (आईएसपी)का रुपमा रहेको वर्ल्डलिंकले आफ्ना प्रयोगकर्तालाई द्रुत गतिको इन्टरनेट सेवा दिनका लागि नयाँ प्रविधि ल्याउन कुनैपनि कसर बाँकी राखेको छैन । नयाँ प्रविधिको प्रयोग गरेर उपभोक्तालाई सस्तो, किफायती र भरपर्दो वाईफाई सेवाका लागि फेसबुक कनेक्टिभीटी राख्ने निर्णय गरेको छ । साझेदारीको माध्यमबाट वर्ल्डलिंकले फेसबुकको एक्सप्रेस वाईफाई प्लेटफर्ममार्फत् नेपाललाई जोड्नेछ । यसले वाईफाईलाई व्यवस्थित गर्न ठूलो मद्दत पुग्ने तथा अहिले सञ्चालन भइरहेका वाईफाई कनेक्सनमा अझ सुधार आउने वर्ल्डलिंकले जनाएको छ ।

वल्र्डलिंक कम्यूनिकेशनका अध्यक्ष दीलिप अग्रवालले नेपालमा हाल ५ लाखभन्दा बढी वल्र्डलिंकका निःशुल्क ग्राहक रहेको बताए । निःशुल्क वाईफाईका बारेमा उनले भने, ‘निःशुल्क भने जतिबेला पनि हुँदैन, यसको समयसीमा तथा सेवा अवधि हुन्छ । सरकारले साथ दिँदैन, यदि सरकारले साथ दिने हो भने नेपालका हरेक डिभाइसमा दैनिक २ घन्टा निःशुल्क इन्टरनेट दिन वर्ल्डलिंक सक्षम छ ।’ वर्ल्डलिंकले नेपालका दुर्गमक्षेत्रका प्रयोगकर्ताहरुमा इन्टरनेटको पहुँच वृद्धि गरी डिजिटल पुलको रुपमा अघि बढ्न सक्षम रहेको पनि उनले बताए । उनले थपे, “फेसबुकसँगको साझेदारी र एक्सप्रेस वाईफाइको विकासले मानिसमा सामाजिक उत्तरदायित्व बढाउने निश्चित छ । यसले इन्टरनेटको पहुँचबाहिर रहेका विपन्न वर्गलाई एउटै मालामा उन्न सफल हुनेछ भन्ने मेरो विश्वास रहेको छ ।’

वर्ल्डलिंकका सिईओ केशव नेपालले हाल सञ्चालनमा ल्याएका १० हजार निःशुल्क वाईफाई हटस्पटमध्ये ७ हजार ५ सयमा एक्सप्रेस वाईफाई सञ्चालन गरिने तथा आगामी सन् २०२३ सम्ममा ३० हजार यस्ता हटस्पट जडान गरिसकिने बताए । उनले सन् २०२३ सम्ममा देशभरका करिब ३० हजार ठाउँमा यो प्रविधिबाट वाईफाई चलाउने योजना रहेको पनि खुलासा गरे ।

फेसबुक मोबाइल साझेदारीका निर्देशक करण खारालले उच्चस्तरीय इन्टरनेट पहुँच सवै वर्गमा पुर्याउन सकेमा रोजगारीका साथै शिक्षा तथा स्वास्थ्य सेवासहितको सुनिश्चितता रहने बताए । उनले भने, ‘एक्सप्रेस वाईफाइ प्लेटफर्मको साथमा वर्ल्डलिंकले नेपालमा वाईफाई विस्तारलाई दिगो बनाउन सक्षम हुनेछ । म वर्ल्डलिंकसँगको साझेदारीलाई निरन्तरता दिने नै छु ।’

कम्पनीका सिटीओ समित जनाले एक्सप्रेस वाईफाईले कसरी काम गर्छ, कनेक्ट कसरी गर्ने भन्ने विषयमा जानकारी दिएका थिए । उनले भने, ‘यो कनेक्ट गर्न सजिलो छ, एक्सप्रेस वाईफाईको रेन्जमा गएर एकपटक कनेक्ट गरिसकेपछि पुनः अर्को ठाउँमा पुग्दा पासवर्ड आदि प्रयोग गरिराख्नु पर्दैन । नेपाली यूजर्सले मात्रै प्रयोग गर्न पाउने यो सेवा फेसबुकको माध्यमबाट चल्ने हुँदा विदेशीले पनि प्रयोग गर्न पाउनेछन् ।’

आईसीटीको क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने करदाता कम्पनी तथा यो क्षेत्रमा सबैभन्दा धेरै रोजगारी दिने कम्पनी पनि यही नै रहेको कम्पनीले जनाएको छ । देशभरमा खपत हुने ब्याण्डविथमध्ये ४३ प्रतिशत वर्ल्डलिंकले नै खपत गर्ने गरेको कम्पनीले जनाएको छ । वर्ल्डलिंकले भर्खरै आफ्नो २५औं वार्षिकोत्सव पनि मनाएको छ ।

 

 

प्रतिक्रिया