सरकारी कार्यालयमै कोरोना संक्रमणको उच्च जोखिम
काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण दैनिक बढ्दो क्रममा छ । पछिल्लो समय त अझ काठमाडौ केन्द्रित नै बनेको छ । हाल दैनिक थपिने नयाँ संक्रमितमा आधी संक्रमित राजधानीका हुन्छन् । सरकारले कोरोना संक्रमण र यसको जोखिम कम गर्न अझै केही क्षेत्रहरु संचालनका लागि अनुमती नदिएपनि सरकारी कार्यालयहरु भने पूर्णरुपमा संचालनमा आएका छन् ।
लकडाउनका बेला लामो समय बन्द रहेका सरकारी कार्यालयहरु खुलेसंगै ती कार्यालयहरुमा सेवाग्राहीहरुको चाप पनि उत्तिकै बढेको छ । जसका कारण कार्यालयका कर्मचारीसंगसंगै त्यहाँ कामका लागि जाने सेवाग्राही पनि जोखिममा परेका छन् । सरकारी कार्यालयहरुमा सेवा लिन जादा निकै भिड लाग्ने गरेको मालपोत कार्यालयमा आफ्नो कामको लागि पुगेका सेवाग्राही लक्ष्मण तिमल्सिनाको भनाइ छ ।
कोरोना जोखिम न्युनिकरणका लागि अधिकांस सरकारी कार्यालयमा सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै हात धुनका लागि साबुनपानीको व्यवस्था पनि गरिएको छ । कार्यालयहरुले सेवाग्राहीलाई दुरीमा रहनका लागि पालो कुर्ने ठाउँमा पनि गोलो घेरा बनाएका छन् । तर सेवाग्राही भने आफ्नो काम चाँडो सकाउने हतारका कारण स्वास्थ्य सुरक्षाका सावधानी अपनाउन तर्फ ध्यान दिएको पाइदैन् । जसले गर्दा संक्रमणको जोखिम अझ बढेका सेवाग्राही लक्ष्मण तिमल्सिनाको भनाइ छ ।
दशैँ तिहारलगायतका चाडपर्व आइरहेकाले पनि यी कार्यालयमा भीड बढेको हो । यतिबेला यातायात कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, बैंकलगायतमा सेवाग्राहीको अत्याधिक भीड देखिन्छ । कोभिड–१९ रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा कार्यालय बन्द थियो । तर पछिल्लो समय सार्वजनिक सेवाहरु संचालनमा आएसंगै सेवाग्राहीको चाप बढेको हो ।
काठमाडौँ उपत्यकाका सेवा प्रदायक विभिन्न संस्थामा सेवाग्राहीको भीड कम हुन सकेको छैन् । सेवाग्राहीको चाप धेरै भएकाले मापदण्डअनुसार सेवाग्राहीको व्यवस्थापन गरि सेवा दिन सरकारी कार्यालहरुमा कठिन भइरहेको छ । सेवाग्राहीको अत्याधिक भिड भएको र स्वास्थ्य मापदन्ड अनुसार सेवाग्राहीले सेवा प्रदान गर्न नसकिएको यातायात व्यवस्था बिभागका सुचना अधिकारी डा.लोकनाथ भुसालको भनाइ छ ।
एकातिर कोरोनाको कहर बढी रहेको छ भने अर्कोतर्फ सेवाग्राहीहरुले सुरक्षाका मापदण्ड पालना नगर्दा संक्रमणको जोखिम बढ्ने खतरा उत्तिकै छ । विज्ञहरुले पनि सरकारी कार्यालयहरु व्यवस्थित बन्न नसक्नु र सेवाग्राहीको भिड हुनुले राजधानीमा कोरोना संक्रमणको जोखिम बढीरहेको बताउँदै आएका छन् । यस्तो अवस्थामा यातायात व्यवस्था विभागले यात्रुलाई बढी भिडभाड नगरि सेवा लिन सुझाइएको छ भने लाइनको व्यवस्था गरि पालैपालो सेवा लिन आग्रह गरिएको छ । साथै कार्यालयमा सेवाग्राहीका लागि ठाउँठाउँमा स्यानिटाइजर अनि हात धुने साबुन पानीको पनि व्यवस्था गरिएको यातायात व्यवस्था विभागका सुचना अधिकारी डा. भुसालले बताए ।
कोरोना संक्रमणबाट जोगिन सरकारले तय गरेका मापदण्डहरु कार्यान्वयन गर्नु नै हो । तर विडम्मना के छ भने सरकारी निकायहरुले नै सरकारी मापदण्ड अनुसारको व्यवस्थापन प्रभावकारी बनाउन सकेका छैनन् । अर्कोतर्फ सेवाग्राहीले पनि सुरक्षाको मापदण्डलाई व्यवास्ता गर्दा राजधानीमा कोरोना संक्रमणको जोखिम थप बढ्नेमा दुइमत छैन् ।

प्रतिक्रिया