शुक्रबार, वैशाख १४, २०८१

भोलीदेखि देशभर समुदाय स्तरमै ‘एन्टिबडी’ परीक्षण गरिँदै

नेपालखोज २०७७ असोज २४ गते १४:२८

काठमाडौं । नेपालमा लकडाउन अघिसम्म सामान्य देखिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण यतिबेला भने समुदाय स्तरमै फैलिसकेको जनस्वास्थ्यविज्ञ बताउँछन् । तर सरकारले भने नेपालमा कुनै खासखास ठाउँमा मात्रै फैलिएको हुँदा अहिले नै समुदाय स्तरमै फैलिसकेको भन्न नमिल्ने बताउँदै आएको छ । अब भने सरकारले कोभिड– १९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने बारे पत्ता लगाउन समुदाय स्तरमै ‘एन्टिबडी’ परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली हिजोदेखि सातवटै प्रदेशमा खटाएको छ । उक्त टोलीले आज स्थानीय प्राविधिकसँग तालीमपश्चात् भोलीदेखि रगतको नमूना संकलन गर्नेछ । यसले कुनैबेला रोग भएको थियो कि थिएन भन्ने कुरा पत्ता लाग्ने र अर्को कुरा यति प्रतिशत समुदायका मानिसमा संक्रमण भएको भन्ने पत्ता लाग्ने महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताएका छन् ।

एन्टिबडी परीक्षणका लागि समुदायमा ‘सेरो प्रिभिलेन्स’ अध्ययन गरिने छ । नेपालमा अहिले संक्रमणको दोस्रो चरणमा रहेको छ । संक्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ । यसरी नेपालमा कोरोना संक्रमणको स्थिति पत्ता लगाउन गरिन लागेको पाण्डेले बताए । यो एन्टिबडी परिक्षण सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरि गर्न लागिएको छ । एउटा प्रदेशमा ४ सय ५० जनाको गरि सातवटै प्रदेशको गरि करिब ३ हजार २ सय जति नमुना संकलन दुइ हप्ताभित्र गरिसक्ने र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसको परिक्षण गरेर नतिजा दशैं अगावै दिने अनुमान गरिएको महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

नेपालमा कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि मन्त्रालयले समुदायस्तरमा सङ्क्रमण फैलिए छ वा छैन भन्नेबारेमा पत्ता लगाउन यो अध्ययन गर्न लागेको हो । तर परिक्षण गर्दा प्रमुख कुरा क्वालिटीमा भने ध्यान दिनु पर्ने विज्ञको बताउँछन् । क्वालिटी नभएको अथवा आर्थिक चलखेल गरेर सस्तो कम्पनीको एन्टिबडी किटहरु ल्याएर परिक्षण गर्यो भने त्यसको कुनै औचित्य नहुने तर राम्रो गुणस्तरको किटहरु ल्याएर परिक्षण गर्न सक्यो भने यसले परिणाम पनि राम्रो दिने जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेको भनाइ छ ।

महाशाखाले एन्टिबडी परीक्षणका लागि प्रत्येक प्रदेशमा छ समूह परिचालन गरेको छ । ती समूहले बालबालिका, वृद्धवृद्धा, महिला, युवालगायत विभिन्न उमेर तथा समूहका ट्राभल हिस्ट्री भएका र नभएका मानिसको रगत सङ्कलन गरि एन्टिबडी परीक्षण गर्ने छ । यसले नेपालमा संक्रमणको फैलावट कुन स्तरसम्म छ भन्ने कुरा पत्ता लगाउन मद्दत गर्नेछ भने अर्को तर्फ विज्ञले भने जस्तै यदि यसमा पनि आर्थिक चलखेल हुन गइ सस्तो अथवा न्युन गुणस्तरको एन्टिबडी किटहरु ल्याएर परिक्षण गर्दा त्यसले संक्रमण कम गर्न मद्दत पुर्याउने भन्दा पनि संक्रमण अझ बढी फैलिने जोखिम बढेर जाने देखिन्छ । त्यसैले परिक्षण गर्दा गुणस्तरलाई विशेष ख्याल गर्दै परिणाममुखी बनाउन तर्फ सम्बन्धित निकायले विशेष ध्यान दिन जरुरी छ ।

 

प्रतिक्रिया