शुक्रबार, चैत १६, २०८०

‘वन ऐन तल्लो तहसम्म पुग्न सकेनन्’

नेपालखोज २०७७ असोज २९ गते १७:०५

काठमाडाैं । सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष भारती पाठकले वनमार्फत उद्यमशीलताका लागि बनेका ऐन समुदायको तल्लो तहसम्म पुग्न नसकेको बताएका छन् ।

महासङ्घले आफूमा आबद्ध विभिन्न जिल्लाका पदाधिकारीलाई आज दिएको घरेलु उद्यमसम्बन्धी भर्चुअल तालीममा अध्यक्ष पाठकले उद्यम सञ्चालनमा सानादेखि ठूलासम्मका विषयमा समस्या उत्पन्न हुँदै आएको जिकिर गरे । “उद्यम सञ्चालनका लागि सरकारीस्तरबाटै सहज नीति बन्न सकेको छैन”, उनले थपे, “गरीब, विपन्न, महिला र पछाडि परेका समुदायलाई माथि उठाउने किसिमबाट उद्यमशीलताको विकास गर्नुपर्छ ।”

महासङ्घका महासचिव बिर्ख शाहीले वनको नीतिगत सुधारमा लाग्नुपर्ने तर्क राखे भने सचिव ठाकुर भण्डारीले नेपाली बजार बिचौलियाको हातमा रहेकाले सरकारीस्तरबाटै उत्पादित सामानको बिक्रीवितरणमा ठोस नीति ल्याउनु आवश्यक रहेको बताए ।

सो अवसरमा महासङ्घका कानूनी सल्लाहकार दिलराज खनालले तालीमबाट प्राप्त सुझावका आधारमा वन क्षेत्रमार्फत उद्यमशीलता विकासका लागि सरकारलाई प्रतिवेदन बुझाइने जानकारी दिए । त्यस्तै सहभागीले स्थानीय तहका जनप्रतिनिधिलाई वन उद्यमसम्बन्धी छलफलमा सहभागी गराउनुपर्ने, सरोकार निकायसँग छलफल अगाडि बढाउनुपर्ने, उद्यमशीलताका लागि आएको बजेट खुलाउनुपर्ने, स्थानीय महासङ्घमार्फत सहकारी सञ्चालन गरी जिल्लाभरि काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने, उद्यम सञ्चालनमा देशभर एकैखाले ऐन बनाउनुपर्नेलगायत सुझाव दिएका थिए ।

प्रतिक्रिया