शुक्रबार, वैशाख १४, २०८१

पर्यटन प्रवद्र्धन तथा ब्राण्डिङ्ग रणनीति तर्जुमा कार्यशाला

नेपालखोज २०७७ असोज २९ गते २०:०३

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले भ्रमणवर्ष २०२० लाई सफल पार्न सरकार र पर्यटन व्यवसायी संघसंस्थाको भव्य गृहकार्य भएपनि कोभिड –१९ ले अभियान सफल हुन नसकेको बताएका छन् ।

पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषदको समन्वयमा बिहिबार पोखरामा भएको ‘नविनतम सामान्य परिस्थितिमा पर्यटन प्रवद्र्धन तथा ब्राण्डिङ्ग रणनीति तर्जुमा कार्यशाला’ कार्यक्रममा भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गदै उनले कोभिड– १९ का कारण पर्यटनमा मासिक १० अर्ब घाटा भईरहेको बताए । आन्तरिक र बाह्य हवाई मार्ग सञ्चालनसँगै हिमाल आरोहरण र पदयात्राका लागि बिस्तारै बुकिङ् खुला हुँदै गएकाले अब बैकल्पिक पर्यटन खोजीसँग अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सुरक्षाको मापदण्ड अवलम्बन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । मुख्यमन्त्री गुरुङले कोरोना सङ्क्रमित देखिए यहाँ सुरक्षा सतर्कता राम्रो भएकाले पदयात्रा पर्यटन र साहसिक खेल लगायत ग्रामिण पर्यटनको लागि डराउन नपर्ने बताए ।

कोभिड –१९ को असरले गण्डकी प्रदेशमा २७ अर्बको नोक्सानी भोगिसकेको जनाउँदै उनले अब पर्यटनलाई चलायमान गर्नुपर्ने बताए । तत्काल पर्यटन क्षेत्रले भोग्नु परेको नोक्सानलाई ध्यान दिएर व्यवसायीलाई राहत प्याकेज मार्फत यस क्षेत्रमा टिकाउन चुनौति रहेको उल्लेख गर्दै उनले एक अर्ब राहत प्याकेज मङ्सिर भित्रै वितरण गर्ने गरी पहल गरिएको जानकारी दिए ।

प्रतिक्रिया