शुक्रबार, वैशाख १४, २०८१

वाणिज्य बैंक र विकास बैकको तुलनामा फाईनान्सहरुमा निष्क्रिय कर्जा अधिक

नेपालखोज २०७७ कार्तिक ४ गते १३:५७

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुमा औषतमा एक दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार लघुुवित्त वित्तीय संस्था बाहेकका वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो महिना अर्थात भदौ मसान्तसम्ममा ३९ खर्ब ६० अर्ब ४३ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ३२ खर्ब ८७ अर्ब ५८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा उक्त अनुपातको कर्जा निष्क्रिय देखिएको हो ।

यस अवधिमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमा मात्र निष्क्रिय कर्जाको अनुपात एक दशमलव ८१ प्रतिशत रहेको छ । उक्त अवधिमा वाणिज्य बैंकहरुले ३५ खर्ब ८ अर्ब २६ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी २९ खर्ब १८ अर्ब १२ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंकहरुमा भने निष्क्रिय कर्जाको अनुपात वाणिज्य बैंक र फाईनान्स कम्पनीहरुको तुलनामा कम देखिएको छ । चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा सञ्चालनमा रहेका १९ वटा विकास बैंकहरुले ३ खर्ब ६१ अर्ब ४१ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९५ अर्ब २५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

यस अवधिमा सञ्चालनमा रहेका २१ फाईनान्स कम्पनीहरुमा भने छ दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । फाईनान्सहरुले चालुु आवको दोस्रो महिनासम्ममा ९० अर्ब ७५ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने वाणिज्य बैंक र विकास बैकहरुको तुलनामा फाईनान्स कम्पनीहरुमा अपेक्षाकृत रुपमा अलि बढी निष्क्रिय कर्जा देखिनुको प्रमुख कारण केही फाईनान्स कम्पनीहरु बिगतमा समस्याग्रस्त अवस्थामा रहेको र हाल समस्यामुक्त भई सुधारको चरणमा रहनु हो । अहिले धेरै वटा फाईनान्स कम्पनीरु सुधार कै क्रममा रहेकाले आगामी समय फाईनान्स कम्पनीहरुको निष्क्रिय कर्जामा कमी आउने छ, उनले भने । निक्षेप तथा कर्जा विबरण (निक्षेप तथा कर्जा रकम १० लाखमा, निष्क्रिय कर्जा प्रतिशतमा)

प्रतिक्रिया