शुक्रबार, चैत १६, २०८०

काभ्रेमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर

नेपालखोज २०७७ कार्तिक ६ गते ११:१०

काभ्रेपलानचोक । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको तुलनामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर भएका छन् ।

काभ्रेपलानचोकमा बुधबार ३१ सङ्क्रमित थपिए भने त्यसको दोब्बर अर्थात् ६२ जना सङ्क्रमणमुक्त भएका हुन् । तीमध्ये २६ महिला रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट जनाएको छ । मंगलबार ७१, सोमबार १६ र आइतबार २३ जना कोरोना सङ्क्रमणमुक्त भएका थिए ।

पोष्टका अनुसार बुधबार १७ महिलासहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये बनेपाका १५, मण्डनदेउपुरका ७, धुलिखेलका ७ र नमोबुद्ध नगरपालिकाका एक तथा बेथानचोक गाउँपालिकाका एक छन् । “एकै दिन दोब्बर सङ्ख्यामा सङ्क्रमणमुक्त भएको यो पहिलोपटक हो”, पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले भने । उनका अनुसार जिल्लामा हालसम्म ५१५ महिलासहित एक हजार ३४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । कूल सङ्क्रमित मध्ये ६३ प्रतिशत अर्थात् ८३५ सङ्क्रमणमुक्त भएका हुन् ।

हालसम्म कोरोना सङ्क्रमणबाट जिल्लामा ८ पुरुष र सात महिला गरी १५ जनाको मृत्यु भइसकेको छ । गत असार २ गते काभ्रेपलानचोकमा पहिलो सङ्क्रमण देखिएको थियो । कोरोना सङ्क्रमितमध्ये ४० प्रतिशत अर्थात् ५२६ बनेपा नगरपालिकाका छन् । तीमध्ये ३०४ पुरुष र २२२ महिला छन् । हालसम्म २३४ पुरुष र १४९ महिला गरी कूल ३८३ जना सङ्क्रमणमुक्त भएको बनेपा नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिलेसम्म कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ ।

काभ्रेपलानचोकको १३ स्थानीय तहमध्ये चार गाउँपालिका तेमाल, महाभारत, खानीखोला र चौँरीदेउराली कोरोनामुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये ६२ प्रतिशत पुरुष हुन् । हाल सक्रिय सङ्क्रमितमध्ये ९३ अस्पतालको आइसोलेसन र ४०४ होम आइसोलेसनमा उपचाररत छन् ।

प्रतिक्रिया