शुक्रबार, चैत १६, २०८०

दुई महिनामा भित्रियो एक खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स

नेपालखोज २०७७ कार्तिक ६ गते १२:१३

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) महामारीकोबिचमा पनि बैदेशिक रोजगारीबाट प्राप्त अर्थात रेमिटेन्स रकम बढेको छ । कोभिड १९ कै कारण बिश्व श्रम बजारमा धेरै नेपाली कामदारहरु रोजगार बिहिन भएको अवस्थामा पनि चालु आर्थिक बर्षको भदौ मसान्तसम्ममा रेमिटेन्स रकम ८ दशमलव एक प्रतिशतले बढेर एक खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ पुुगेको छ ।

राष्ट्र बैंकले बुुधबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स शुन्य दशमलव ६ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिटेन्स रकम २ दशमलव ६ प्रतिशतले बढेर एक अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक दशमलव ६ प्रतिशतले घटेकोे थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९ दसमलव दुुई प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या शुन्य दसमलव २ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६ दशमलव पाँच प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० दशमलव ३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ४ दशमलव ४ प्रतिशतले बढेर एक खर्ब ८३ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर शुन्य दसमलव ५ प्रतिशतले बढेको थियो ।राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता २६ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२ अर्ब ६९ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफरमा ३३ दशमलव ७ प्रतिशतले कमी आएर एक अर्ब ९६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३ दशमलव ३ प्रतिशतले वृद्धि भई र्२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब ९८ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८ अर्ब ८३ करोडले बचतमा रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको छ ।

प्रतिक्रिया