बिहीबार, वैशाख १३, २०८१

संकटको घडीमा नेपाली जनता टुहुरा बने

नेपालखोज २०७७ कार्तिक ६ गते २०:३४

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले विपत्तिसंग जुध्दा नागरिकको जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन कष्टकर बन्दै गएको बताएका छन् । बडादशैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताएका छन् ।

संकटको घडीमा नेपाली जनता अविभावकविहीन टुहुरा बनेको पीडाबोध यतिबेला भएको उनले बताएका छन् । जारी शुभकामना सन्देशमा भनिएकाे छ, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ भन्ने आम मान्यताको आधारमा हेर्दा नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध यतिबेला हुँदैछ ।’

रोजगारीका लागि विदेश गएकाहरु संकटमा रहेको र देशभित्रै श्रम र सीप सदुपयोग गर्ने बन्दोबस्त भइनसक्दा देश, समाज र परिवारको मोेह ममताले आएकाहरु पनि फेरि कामका लागि विदेशतिरै फर्किनु पर्ने बाध्यता रहेको उनले बताएका छन् । राहत, रोजगारी र रोगको उपचार खोज्दै भौतारिएकाहरुलाई भरपर्दो आड भरोसा महसुस गराउन नसकिएको शाहाद्वारा जारी शुभकाना सन्देशमा उल्लेख गरिएको छ ।

त्यस्तै नागरिकले दैनिक जीविकाको लागि चाहिने अत्यावश्यक वस्तुको मुल्य वृद्धि, अभाव र गुणस्तरीयतामा ह्रास आउन नसकेको बताउँदै भनिएको छ, ‘समाजमा अनेक अपराधिक गतिबिधि र पिशाच प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ । त्यसैले आज सबैले बढ्दो आशुरी र भष्माशुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेका छन् ।’

नेपाललाई चिनेर, बुझेर, नेपाली भएर बाँच्न र नेपालीको हितका लागि र नेपाली शैलीलाई अंगालेर नेपाललाई उज्यालो बाटोतिर लैजान आग्रह गर्दै पूर्वराजा शाहाले बडादशैंको सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन् ।

प्रतिक्रिया