बिहीबार, वैशाख १३, २०८१

नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख नाघ्यो

नेपालखोज २०७७ कार्तिक ७ गते ५:४६

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनप्रति दिन वृद्धि भइरहेकोछ । कोरोना संक्रमितसंगसंगै संक्रमण मुक्त हुने दर पनि वृद्धि भइरहेको छ । हालसम्म १ लाख २ हजार आठ सय २० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्त हुनेको संख्या ६९ दशमलव २ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ । देशभर ३ हजार ७ सय ५१ जना क्वारेन्टिनमा छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय नाघेको छ । बिहीबार २१ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ । पछिल्लो २४ घण्टामा १५ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यस्तै बिहीबार थप २१ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ८ सय १२ पुगेको छ ।

त्यस्तै, देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दै गएको छ। बिहीबार ४४ हजार ८ सय ७७ जना सक्रिय संक्रमितमध्ये ३१ हजार ५ सय ३८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार १ सय २२ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया