शनिबार, वैशाख १५, २०८१

कानुन कार्यान्वयन नगर्नेलाई कारबाहीको चेतावनी

नेपालखोज २०७७ कार्तिक ७ गते ७:२२

काठमाडौं । नेपालमा आजदेखि लागु हुने गरि विदेशी च्यानलहरुमा क्लिन फिड (विज्ञापनरहित) लागु गरेको छ । भोलीदेखि विदेशी च्यानल क्लिन फिड (विज्ञापनरहित) प्रसारण भएरनभएको अनुगमन पनि सरकारले गर्ने भएको छ ।

सरकारले विज्ञापन (नियमन गर्ने) ऐनको व्यवस्थाअनुसार कात्तिक ७ गतेभित्र नेपालमा प्रसारित हुने विदेशी च्यानलबाट विज्ञापन प्रसारण गर्न नपाउने व्यवस्था कार्यान्वयन गर्न पनि सरोकारवालाहरुलाई आग्रह गरेको छ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन ऐनको व्यवस्थाअनुसार क्लिन फिड कार्यान्वयन नगर्नेलाई कानुनअनुसार कारबाही हुने बताए ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने र ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ्‍क गरी प्रसारण गर्ने सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र अर्थात् २०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेकाले त्यसको पालना गर्न मन्त्री गुरुङले आग्रह गरे । क्लिन फिड कार्यान्वयन नगर्नेलाई कारबाही हुने उनले बताए ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले उक्त कानुन कार्यान्वयनका लागि विज्ञापन बोर्डको गठन भइसकेको र सोही बोर्डले अनुगमनलगायत कामका लागि कर्मचारीहरुलाई तालिमसमेत दिइसकेको बताएका छन् ।

प्रतिक्रिया