शुक्रबार, वैशाख १४, २०८१

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्नेबारे गृहकार्य सुरु

नेपालखोज २०७७ कार्तिक ८ गते ११:०२

दाङ । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य सुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेको अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ ।

तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अध्ययन थालेको छ । राप्ती गाउँपालिकामा रहेका पूर्वाधारको अध्ययनसहित बिहीबार छलफल भएको प्रदेशसभा सदस्य इन्द्रजीत थारुले जानकारी दिए । पूर्वाधारहरु रहेकाले संसद् बैठक देउखुरीमा चलाउन सकिने उनले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको जिम्मेवारीअनुसार मालपोत र नापी कार्यालयले राप्ती गाउँपालिकाका सिसहनिया र लालमटिया तथा गढवा गाउँपालिकाका गोवरडिया र पत्रिङ्गा क्षेत्रबाट एक हजार ४२० बिघा सरकारी, पर्ती, गौचरण, बगरलगायत जग्गाको अभिलेख मन्त्रालय पठाइएको नापी कार्यालय लमहीका प्रमुख कृष्ण पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया