बिहीबार, वैशाख १३, २०८१

८ महिनादेखि तलब नपाउँदा बैतडीका शिक्षकको दसैँ खल्लो

नेपालखोज २०७७ कार्तिक १० गते ९:४९

बैतडी । बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोतका शिक्षकहरुले तलब नपाउँदा दसैँ खल्लो भएको बताएका छन् । गएको ८ महिना यता तलब नपाउँदा आफूहरुको दसैँ खल्लो भएको सामुदायिक विद्यालय निजी श्रोत शिक्षक संघर्ष समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले बताए ।

गाउँपालिकाले गत वर्षदेखि सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोतका शिक्षकहरुलाई तलब दिने गरेको थियो तर चैत महिना यता आफूहरुले तलब नपाउँदा समस्या भएको अध्यक्ष शाहले बताए । गाउँपालिकाले आफूहरुको समस्या नबुझेको लेकलुपण माविमा कार्यरत शिक्षक रामसिंह धामीले गुनासो गरेका छन् ।

एकातिर कोरोना भाईरसको महामारी अर्कोतिर यो अवस्थामा पनि आफूहरुले काम गरेको पैसा ८ महिनादेखि नपाउँदा यो बर्षको दसैँ खल्लो भएको शिक्षक धामीले गुनासो गरेका छन् ।
सिगास गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोतका १९२ जना शिक्षकहरुले आठ महिनासम्म तलब नपाएका हुन् ।

यस विषयमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले राजस्व बाँडफाँड शीर्षकमा रकम निकासा नभएकाले निजी श्रोतका शिक्षकहरुलाई तलब खुवाउन नसकिएको बताएका छन् ।
निजी श्रोतका शिक्षकहरुलाई तलब खुवाउनका लागि सोही शीर्षकबाट तलब दिने गरेकाले रकम निकासा नहुँदा समस्या भएको उनको भनाई छ ।

सामुदायिक विद्यालयमा कार्यरत निजीश्रोतका शिक्षकहरुका समस्याका बारेमा दसैँपछि बसेर छलफल गरिने प्रमुख भट्टले बताए । 

प्रतिक्रिया