बुधबार, वैशाख १२, २०८१

रसुवाको पर्यटकीय क्षेत्रमा दैनिक डेढ सय नेपाली पर्यटक भित्रन थाले

नेपालखोज २०७७ कार्तिक १२ गते १२:५२

रसुवा । पर्यटकीय सिजन सुरु भएसँगै रसुवाको पर्यटकीय क्षेत्रहरुमा नेपाली पर्यटक भित्रने क्रम सुरु भएको छ । गएको पुस महिनादेखि नै पर्यटकीय क्षेत्रहरु सुनसान बनेका थिए ।

त्यसपछि सुरु भएको कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण पर्यटक नपुगेपछि चैतदेखि पर्यटकीय क्षेत्रमा पर्यटक ठप्प भएका थिए । अहिले आन्तरिक पर्यटक आउन थालेपछि होटल तथा पर्यटन व्यवसायी केही उत्साहित भएका छन् ।

रसुवा भित्रिएका पर्यटक गोसाइँकुण्ड तथा लाङटाङ जाने गरेका होटल तथा पर्यटन व्यवसायी संघ रसुवाले जनाएको छ । पर्यटनको मुख्य सिजन सुरु भएसँगै दैनिक डेढ सयको संख्यामा पर्यटक आइरहेका पनि संघले जनाएको छ । तर विगतका तुलनामा यो निक्कै थोरै हो । गोसाइँकुण्डमा दैनिक सय जनासम्म पर्यटक गइरहेका छन् ।

बाँकी पर्यटक लाङटाङलगायत अन्य पर्यटकीय क्षेत्रमा पुग्ने गरेका छन् । पर्यटकहरु लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढी, नागथली लगायतका क्षेत्रमा जाने गरेका छन् । पर्यटक आउने क्रम सुरु भएसँगै गोसाइँकुण्ड, लाङटाङ तथा तामाङ सम्पदा मार्गलगायतका क्षेत्रमा रहेका होटल, लज तथा चिया पसल खुलेका छन् । सामूहिक रुपमा घुम्न मन पराउने युवाहरु न्यूनतम दुई जनादेखि १५ जनासम्मको समूहमा आउने गरेको संघले जनाएको छ ।

प्रतिक्रिया