शनिबार, वैशाख ८, २०८१

होटल तथा रेष्टुरेन्टहरुमा बैंकहरुको एक खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी

नेपालखोज २०७७ कार्तिक १३ गते १२:५७

काठमाडौं । होटल तथा रेष्टुरेन्ट क्षेत्रमा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल कर्जा लगानी एक खर्ब ५१ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २७ वटा वाँणिज्य बैंक, १९ वटा विकास बैंक र २० वटा फाईनान्स कम्पनीहरुले चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा पर्यटकीय क्षेत्र अन्र्तगत होटल तथा रेष्टुरेन्टहरुमा उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् । यस अवधिमा बैंकिङ क्षेत्रको कुल निक्षेप ३९ खर्ब ६० अर्ब ४३ करोड ५० लाख रुपैयाँ एवं कुल कर्जा ३२ खर्ब ८७ अर्ब ५८ करोड २० लाख रुपैयाँ रहेको छ ।

वाँणिज्य बैंकहरुले मात्र भने होटल तथा रेष्टुरेन्ट क्षेत्रमा एक खर्ब ३६ अर्ब ५७ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा वाँणिज्य बैंकहरुको कुुल निक्षेप ३५ खर्ब ८ अर्ब २६ करोड ४० लाख रुपैयाँ रहेको छ भने कुुल कर्जा रकम २९ खर्ब १८ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको छ । विकास बैंकहरुले भने होटल तथा रेष्टुरेन्ट क्षेत्रमा १२ अर्ब एक करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकका अनुसार चालुु आवको २ महिनाको अवधिमा विकास बैंकहरुले ३ खर्ब ६१ अर्ब ४१ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९५ अर्ब २५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यसैगरी फाईनान्स कम्पनीहरुले चालुु आवको २ महिनाको अवधिमा होटल तथा रेष्टुरेन्ट क्षेत्रमा २ अर्ब १४ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा फाईनान्स कम्पनीहरुको कुल निक्षेप ९० अर्ब ७५ करोड ९० लाख रुपैयाँ रहेको छ भने कुल कर्जा रकम ७४ अर्ब २० करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया