शुक्रबार, वैशाख १४, २०८१

संसद् भवन र परिसर आकर्षक बनाउन निर्देशन

नेपालखोज २०७७ कार्तिक १८ गते २१:१३

काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले संसद् अधिवेशन हुनुअघि व्यवस्थापिका–संसद् भवनलाई चिटिक्क बनाउन आग्रह गरेका छन् । उनले संसद् भवनको सरसफाइ र सौन्दर्य कायम गर्नका लागि कुनै कन्जुस्याइँ नगर्न निर्देशन दिएका छन् ।

मन्त्रालयको कार्यभार सम्हालेपछि अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, हाल व्यवस्थापिका संसद् भवनको निरीक्षण गर्न आज अपराह्न केन्द्रमा पुगेका मन्त्री श्रेष्ठले भवनको सबै पक्ष चुस्त र दुरुस्त राख्न निर्देशन दिए । मन्त्रालयअन्तर्गत रहेको सो भवन २०६५ सालदेखि संसद् भवनको रुपमा प्रयोग हुँदै आएको छ । मन्त्री श्रेष्ठले भवनमा रहेको प्रकाश र ध्वनि प्रणालीलाई व्यवस्थित गर्न पनि निर्देशन दिए ।

उनले संसद् भवनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षसमेत निरीक्षण गरेका थिए। सिंहदरबारमा निर्माणाधीन संसद् भवन तयार नभएसम्म सोही भवनमा संसद् अधिवेशन हुनेछ । मन्त्री श्रेष्ठले भवनको निरीक्षण गर्दै बिग्रिएका संरचना तत्काल मर्मतसम्भार गरी भवनलाई साँच्चिकै संसद् भवनका रुपमा पहिचान गराउनुपर्ने बताए ।

मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सिंहदरबारमा संसद् भवन निर्माण भएपछि सो केन्द्रलाई कसरी व्यावसायिक रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न निर्देशन दिए । केन्द्रका कार्यकारी निर्देशक विद्रोह दाहालले १५३ क्षेत्रफलमा रहेको सो भवनका आठ कक्षमा करीब दुई हजार क्षमता रहेको र करीब चार सय सवारी पार्किङ गर्न मिल्ने पार्किङस्थल रहेको बताए ।

उनले साबिकको बानेश्वर ब्यारेकका नाममा रहेको जग्गाको स्वामित्व केन्द्रका नाममा ल्याउनुपर्ने, नीतिगत रुपमा केन्द्रको गठन आदेश, कर्मचारी सेवाशर्त र आर्थिक नियमावली संशोधन गर्नुपर्नेलगायत समस्या रहेको जानकारी गराए । उनले संसद् अधिवेशन सञ्चालन गर्न सबै व्यवस्थापन केन्द्रले नै गर्दै आएको बताए। केन्द्रअन्तर्गत हाल १०८ कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया