शुक्रबार, वैशाख १४, २०८१

कार्तिक २७ गतेदेखि अर्को आरबि हाइड्रोपावरको आईपीओ निष्काशन

नेपालखोज २०७७ कार्तिक २० गते ११:५५

काठमाडौं । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले कात्तिक २७ गते बिहीबारबाट सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गरेको छ ।

यसअघि माउन्टेन हाइड्रोपावर कम्पनीले पनि कार्तिक २६ गतेदेखि १९ लाख ६८ हजार २७ कित्ता शेयर जारी गर्ने सूचना प्रकाशन गरिसकेको छ । जसमध्ये १८ लाख ३० हजार २६५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

पहिलो चरण आयोजना प्रवपाति बासिन्दाका लागि शेयर जारी गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९१० कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमा पहिलो चरणमा बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता समेत समावेश गरिएको छ ।

निष्काशित शेयरमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि छुट्टाइएको छ । ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि सर्वसाधारणहरुले आवेदन गर्न पाउनेछन् ।

कम्पनीले निष्काशन गर्ने साधारण शेयरलाई क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पूँजी ४२ करोड रुपैयाँको २५ प्रतिशत बराबरको १० लाख ५० हजार कित्ता साधारण शेयर (आईपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि अनुमति दिएको थियो । यसबाट कम्पनीले पहिलो चरणमा असोज ७ गतेदेखि कात्तिक ६ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि शेयर निष्काशन गरी आवेदन गरेकालाई ४ लाख २० हजार कित्ता शेयरमध्ये १ लाख ७६ हजार ९० कित्ता शेयर कार्तिक १७ गते सोमबार बाँडफाँड समेत गरिसकेको जनाएको छ ।

यस आईपीओमा लगानीकर्ताले छिटोमा मंसिर ३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूरै शेयर बिक्री नभएको खण्डमा भने ढिलोमा मंसिर ११ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आईपीओ भर्दा न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिन्छ । यद्यपी धेरै लगानीकर्ताबाट आईपीओ पर्ने भएकाले १० कित्ता आइपीओ नै गोलाप्रथाबाट पाउनु्पर्ने भएकाले एक हजारको आवेदन नै प्रयाप्त हुने जनाएको छ ।

कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रतिक्रिया