बिहीबार, चैत १५, २०८०

नेकपा सचिवालय बैठक बोलाउन सामूहिक आग्रह गरिने

नेपालखोज २०७७ कार्तिक २१ गते १९:५९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यको अनौपचारिक बैठकले पार्टीभित्र पछिल्ला दिनमा देखिएका समस्या समाधानका लागि सचिवालय बैठक बोलाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक रुपमा आग्रह गर्ने भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आयोजना गर्नुभएको अनौपचारिक बैठकले पार्टी र सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउन र पछिल्ला दिनमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्ने गरी सचिवालय तथा अन्य निकायको बैठक बोलाउन सामूहिक रुपमा आग्रह गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कार्यकारी अध्यक्षले नै औपचारिक बैठक बोलाउन सक्ने भए पनि सहमतिका आधारमा अगाडि बढ्न अध्यक्ष ओलीलाई सामूहिक आग्रह गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठको भनाइ थियो । दाहालसहित सचिवालयका पाँच सदस्यले शनिबार सामूहिक रुपमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेटेर बैठक बोलाउन आग्रह गर्ने उहाँले जानकारी दिए ।

पार्टीभित्र देखिएको संकट समाधान गर्ने, सकारात्मक ढंगले पार्टीलाई अगाडि बढाउने, अहिलेसम्मको कामको समीक्षा गर्ने, पार्टी निर्णयको कार्यान्वयन गर्ने र पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाउन आवश्यक कदम चाल्न छिटो बैठक बोलाउन अनुरोध गरिने उनको भनाइ थियो ।

कूल नौ सदस्यीय सचिवालय सदस्यमध्ये आजको बैठकमा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी थिए । प्रधानमन्त्री ओली, महासचिव विष्णुप्रसाद पौडेल, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा भने बैठकमा सहभागी हुनुभएको थिएन् ।

प्रतिक्रिया