मंगलबार, वैशाख ११, २०८१

संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघको चेतावनी : ‘माग पूरा नभए आन्दोलन गर्छौं’

नेपालखोज २०७७ कार्तिक २२ गते २०:१३

काठमाडौं । संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ, नेपालले अघि सारेका मागहरु सरकारले पूरा गर्नुपर्नेमा जोड दिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघका पदाधिकारीहरुले आफूहरुले अघि सारेका माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

महासंघले पछिल्लो समय गरेका विभिन्न गतिविधिको बारेमा जानकारी दिने क्रममा सरकारसमक्ष आफ्ना माग पूरा गर्न दबाब दिएको हो । भारतीय पेन्सनरहरुका समस्याको लागि भारत सरकारसँग बिभिन्न तहमा छलफल, पत्राचार, भेटघाट भईरहेको हाल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमणमा भेट गरी समस्याहरुका बारेमा जानकारी गराँउदा सेनाअध्यक्ष नरवणेबाट सकारात्मक प्रतिबद्धता आएको समेत जनाएको छ ।

त्यस्तै, नेपाल सरकारबाट दिँदै आएको सामाजिक सुरक्षा भक्तामा खासगरी भूपूहरुलाई लक्षित गरी बन्द गएिकोमा सरकारलाई सचेतना, दबावमुलक केही कार्यक्रमहरुको गरिरहेको र त्यसलाई वारपारको हिसावमा लैजान प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाईएको र केही क्षण प्रतिक्षा गर्ने र सकारात्मक नदेखिए देशव्यापी आन्दोलन गर्ने निर्णय गरिएको महासंघले चेतावनी दिएको छ ।

नेपाल, भारत, ब्रिटिश सरकारको संयुक्त लगानीमा पुलचोकको कल्याणकारी भवन तथा जमिन केही व्यक्ति बिशेषबाट अतिक्रमण भईरहेकोले समझदारीबाट मेलमिलापमा नआएमा कानुनी बाटो अपनाउने निर्णय गरिएको पनि महासंघले स्पष्ट पारेको छ । भारत सरकारद्धारा दिन खोजिएको सिएसडी सुबिधामा पनि नेपाल सरकारबाट स्विकृति नपाएकोमा स्वीकृतिको लागी नेपाल सरकारलाई अनुरोध गरिने जनाईएको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष कर्णेल धन बहादुर थापाले पत्रकार सम्मेलनमा उठेका विषयमा जवाफ दिएका थिए भने कार्यक्रममा महासंघका पूर्वाञ्चल ईन्चार्ज सुवेदार मेजर किशोर कुमार राईले भारत सरकारद्धारा दिन खोजिएको सिएसडीको बारेमा व्याख्या गरेका थिए । सिएसडीको बारेमा नेपाल सरकारले आनकानी गर्न नहुने भन्दै यसले आम नेपाली नागरिकलाई प्रत्यक्ष फाईदा हुने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्के रानाले आफूहरुले अघि सारेका जायज मागहरु सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । उनले सरकारले आफूहरुलाई बेवास्ता गर्न नहुने धारणा राखे । उनले भने,‘सरकारले हामीलाई त्यो अनागरिकसरह दर्जा दिने कोशिस गर्यो भने ठिक हुँदैन् । हाम्रा विनम्र अनुरोधलाई सरकारले स्विकार्नुपर्छ । सम्बोधन गर्नुपर्छ ।’
कार्यक्रम सञ्चालन भने महासंघका महासचिव सुवेदार कुलबहादुर केसीले गरेका थिए । उनले कार्यक्रममा महासंघको तर्फबाट जारी गरिएको विज्ञप्ती पनि वाचन गरेका थिए । उनले भूपूहरुबाट आउने रेमिट्यान्सको बारेमा समेत प्रकाश पारेका थिए । उनकाअनुसार भारतबाट मात्रै भूपूहरुबाट प्रति महिना भारु २० करोडभन्दा बढि र हाल सेवारतबाट भारु ३० करोड रेमिट्यान्स आउने गरेको छ । त्यस्तै, ७ देखि ८ करोड बेलायतबाट आउने गरेको उनले जनाए । केसीले आफूले सुरुदेखि नै अवकाशप्राप्त कर्मचारीहरुलाई सामाजिक सुरक्षा भक्ता दिनुपर्ने आवाज उठाउँदै आएको सुनाउँदै सरकार यसप्रति गम्भीर हुनुपर्नेमा जोड दिए । अन्य देशमा पनि दिर्ईएको उनले सुनाए ।

भारतीय सेनाअध्यक्ष नरवणेको नेपाल भ्रमणको क्रममा आफूहरुले नेपालमा वार मेमोरियल बनाई दिनुपर्ने प्रस्ताव राखेको र त्यसमा जनरल नरवणे सकारात्मक भएको र जमिनको व्यवस्था भए भारु ७ करोड उपलब्ध गराउने पनि प्रतिबद्धता जनाएको केसीले स्पष्ट पारेका छन् । उनले भने,‘उहाँले जमिन तपाईहरुले खोज्नुहोस भन्नुभयो, हामीले बुटवलको सुनौलमा जमिनको व्यवस्था गरिसकेका छौं ।’

प्रतिक्रिया